Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीको फोहर व्यवस्थापनमा जोड


११, फागुन २०८०
  • 153
    SHARES
  • लुम्बिनीको फोहर व्यवस्थापनमा जोड

    लुम्बिनी । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ ।

    बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ ।

    सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरुपमा काम नलाग्ने अन्य वस्तुहरु जताततै अव्यवस्थित रुपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ ।

    बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले भन्नुभयो, “लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहरको दुर्गन्ध सहीसक्नु छैन ।”

    लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडिबी र विश्व बैंकलगायतका सङ्घसंस्था लामो समयदेखि कार्यरत रहे पनि फोहरको ब्यवस्थापन हुन सकेको छैन ।

    नागरिक सहकार्य मञ्च लुम्बिनीका अध्यक्ष अब्दुल जुबेर भन्नुहुन्छ, “त्यहाँ फोहर सङ्कलन, ढुवानी, विसर्जन र व्यवस्थापनका लागि विद्यमान प्रणाली नै अव्यवस्थित छ ।” 

    अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहर फ्याकिएका छन् । फोहर नपुरेकाले दुर्गन्ध फैलिएको छ । घरको फोहर घरमै तह लगाउन सके फोहरको सकस कम हुने पर्यटन व्यवसायी वीरेन्द्र मिश्र बताउनुहुन्छ ।

    “वातावरणमैत्री विकासको जिम्मेवारी नागरिकको पनि हुन्छ” उहाँले भन्नुभयो, “नागरिक आफैँले फोहर व्यवस्थापन गर्नुको विकल्प छैन ।’’ वातावरणमैत्री ऐन, कानुन र नियमहरूले फोहरमैलाको प्रभावकारी व्यवस्थापनमा स्थानीय जिम्मेवारीलाई जोड दिँदै आवश्यक पूर्वाधार निर्माण र सञ्चालन गर्न सामूहिक प्रयासमा जोड दिएको छ ।

    सर्वसाधारणमा चेतनाको कमी र कमजोर कार्यान्वयनका कारण सोचे अनुसारको उद्देश्य हासिल हुन नसकेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय संजाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहरको प्रभाव, पर्यावरण संरक्षण, र स्वच्छताको महत्व बुझाउनका लागि प्रशिक्षण र जागरूकता गराउन आवश्यक भएको अध्यक्ष कुर्मीको भनाइ छ ।

    सामुदायिक सङ्गठन, अनुसन्धानमूलक सङ्घ–संस्थाहरू र सरकार समेत मिलेर सामुदायिक सहभागितामा फोहरमैलाको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि काम गरेमा त्यसले पर्यावरण, स्वास्थ्य र समृद्धिमा अभिवृद्धि गर्नपर्नेमा उहाँको जोड छ । 

    फोहर सङ्कलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहरको विर्सजन चुनौतीपूर्ण बनेको बताउनुहुन्छ, वातावरणका जानकार डा. सतीश उपाध्याय । उहाँका अनुसार फोहर सङ्कलनमा बढी केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नीतिगत निर्णय नहुँदा यसको समस्या लुम्बिनीमा मात्र होइन, नेपालभरि देखिएको छ ।”

    सहरको फोहर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको छ । “नदी र जङ्गलको बीचमा फोहर फालेर समस्याको दिगो समाधान हुँदैन” उहाँ भन्नुहुन्छ, ‘‘जबसम्म उपभोक्तालाई फोहरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण रहिरहन्छ ।”

    समान्यतया घरेलु फोहरमैला, व्यावसायिक फोहरमैला, कृषिजन्य फोहरमैला र निर्माणजन्य फोहरमैला हुन्छन् ।यी फोहरलाई जैविक फोहर (खाना र भान्साको फोहर), निष्क्रिय र गैर जैविक फोहर (निर्माण र भत्काउने फोहर) र पुनः प्रयोग गर्न मिल्ने फोहर (प्लाष्टिक, कागज, बोतल, गिलास आदि) गरी तीन भागमा बाँड्न सकिन्छ।

    फोहरको विकल्प दिदैँ डा.उपाध्याय भन्नुहुन्छ, ‘‘माटाका भाँडा, नरिवल, पुरैनी र केराको पातहरु प्रयोग गर्नु प्लाष्टिकको लागि उत्तम विकल्प मानिन्छ । यसले स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त हुन्छ ।’’ कतिपय रेस्टुरेन्टहरूमा माटाको भाँडामा चिया र टपरीमा खाना दिने गरिएको छ । केहीले माटोबाटै बनाइएका सजावट सामाग्रीको प्रयोग गरेका छन् । यस्ता व्यवसायीहरूलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उहाँको सुझाव छ । 

    डा. उपाध्याय भन्नुहुन्छ, “नेपालका सिमेन्ट उद्योग तथा हरेक सपिङ्ग सेन्टरहरूलाई प्लास्टिकको झोला र बोराको सट्टामा नेपालमै बनेको जुटको झोला र बोराहरू मात्र प्रयोग गर्नुपर्ने नियम बनाएर दशकौंदेखि बन्द भएको उद्योगलाई पुनर्जीवन दिन सकिन्छ ।” फोहरबाट विभिन्न वस्तुहरु निर्माण गर्न, ऊर्जामा उत्पादन गर्न र प्राङ्गारिक मल उत्पादन गरी आर्थिक समृद्धि गर्न सकिने उहाँको भनाइ छ । 

    लुम्बिनीमा फोहर व्यवस्थापनका लागि सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माणको प्रक्रियामा छ ।नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको कार्य गरिरहेको र ‘ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमबारलाई ‘ग्रीन डे, क्लीन डे’का रुपमा नियमित सरसफाइ अभियान सञ्चालन गरेको छ । 

    नगरपालिकाका सरसफाइ संयोजक शेषराम यादवका अनुसार लुम्बिनीमा उत्पादित फोहर ढुवानीका लागि एउटा टिप्पर तथा’ डोर टु डोर‘ फोहर सङ्कलनका लागि दुईवटा विद्युतीय रिक्साको व्यवस्था छ । यहाँ फोहर ढुवानीका लागि यसै आर्थिक।वर्षमा एउटा टेक्टर पनि खरिद गर्ने नगरपालिकाको योजना रहेको यादवको भनाइ छ ।

    नगरपालिकाको सरसफाई शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहर उत्पादन हुने गरेको छ । त्यहाँ ८० बढी होटेल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र वर्षेनी १० लाख पर्यटकका चापका कारण फोहर व्यवस्थापनमा समस्या आएको उहाँको भनाइ छ । 

    नगरपालिकाले सरसफाइ र फोहर व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु ११ लाख बजेट बिनियोजन गरेको छ भने अघिल्लो आवमा रु ८० लाख बजेट बिनियोजन गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाई अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ ।

    सो निर्माण परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणको निर्माण कार्यका लागि दुई करोड रुपैयाँ छुट्याएको सरसफाइ शाखा संयोजक यादवको भनाइ छ ।

    वडा नं.५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नहुकिने फोहर छुट्याएर त्यसको व्यवस्थापन गर्ने नगर प्रमुख सजरुद्दीन मुसलमानको योजना छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको भन्दै फोहरलाई स्थायीरूपमा तह लगाउन र त्यसबाट स्थानीयलाई लाभ पुर्‍याउने गरी काम भइरहेको उहाँको भनाइ छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend