Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लोकजीवनका भाका सुसेल्ने वसन्त


२, चैत २०८०
  • 261
    SHARES
  • लोकजीवनका भाका सुसेल्ने वसन्त

    गण्डकी । माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्नुहुन्छ र गीतमा प्राण भर्नुहुन्छ । चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा । 

    उहाँको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिती, संस्कृति र भोगाइहरु हुन् । थापाले भन्नुभयो, “मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस् । अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु । खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ ।” 

    सङ्गीतकर्ममा दुई दशक बिताउनुभएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित हुनुहुन्छ । हिले ४० वर्षका उहाँ नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिनुभएको छ । भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय हुनुहुन्छ । ठेट लय र शब्दमा जब उहाँको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ । उहाँमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन् ।

    मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उहाँको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ । उहाँले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गर्नुभएको छ । कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अथ्र्याउने गर्छन् । सङ्गीत–साधनामा लिप्त हुँदा उहाँ उही धर्ती, आँगन र पाखापखेरुमा पुग्नुहुन्छ । जहाँ उहाँ जन्मनुभयो, हुर्कनुभयो र गीत गुन्गुनाउन सिक्नुभयो । 

    विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्नुहुन्थ्यो होला र १ ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै । देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उहाँ नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिनुहुन्छ ।गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उहाँको उद्देश्य छ । 

    “लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ”, थापाले भन्नुभयो, “हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेशअनुसार लय जोगाउनुपर्छ ।लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ ।” उहाँले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीहरुसमेत रमाउने गरेको बताउनुभयो । संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ ।

    बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थाल्नुभएको थियो । ‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल हुनुभएको छ ।  

    उहाँको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको/सुनिएको गीतमा पर्दछ । अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिनुभएको छ । कतिमा शब्द रच्नुभएको छ भने कुनै आफैँले गाउनुभएको छ । 

    चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली।।।’ गीतमा पनि उहाँको स्वर र सङ्गीत छ । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया।।।’ मा उहाँकै सङ्गीत छ । गीतकार राम थापाको शब्द रहेको उक्त गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो ।     

    “गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो”, थापाले विगत सम्झँदै भन्नुभयो, “म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता/दर्शकका कारणले छु । म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु । मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ ।”

    लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उहाँ पर्नुहुन्छ । अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाउनुभएको हो । “सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पुर्‍यायो”, उहाँले भन्नुभयो, “नारायण गोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ । हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।”

    रुचि सबैखाले गीतसङ्गीतमा भए पनि उहाँ आफ्नो सृजनाकर्मको केन्द्र लोकसङ्गीतलाई नै मान्नुहुन्छ । व्यावसायिक सफलता हात पार्न लोकसङ्गीतको महत्वपूर्ण भूमिका रहेको थापाको भनाइ छ । मौलिकता, सृजनात्मकता, प्रस्तुतिमा नयाँपन र साधना सफलताको मन्त्र रहेको उहाँले बताउनुभयो ।

    “सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ”, थापाले भन्नुभयो । समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उहाँ पोख्त हुनुहुन्छ ।

    “लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ । नयाँनयाँ प्रयोग पनि भइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो । अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।” 

    थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको बताउनुभयो । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उहाँको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्नुहुन्छ । उहाँ गीत रचनामा पनि सिद्धहस्त हुनुहुन्छ ।

    लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उहाँले आफैँ लेख्नुभयो, सङ्गीत भर्नुभयो र गाउनुभयो । उहाँलाई गीतमा विष्णु माझीदेखि देवी घर्तीसम्मका चर्चित गायिकाले साथ दिनुभएको छ ।  

    नवराज पन्त, प्रल्हाद सुवेदीलगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गर्नुभएको छ । पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाउनुभएका उहाँले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिनुभएको छ ।पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ । 

    पञ्चेबाजा गीत सृजना गर्दा उहाँ आफ्नै भूगोलतिर फर्कनुभएको छ । हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ । सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उहाँलाई दिइन्छ । उहाँले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन् । ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन् ।

    ‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ । गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्नुहुन्छ । यसबाट स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगिरहेको छ ।

    विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनुपरेको छैन । उक्त गीतपछि नेपाली लोकदोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको उहाँको विश्वास छ । श्रोता/दर्शकको अपार मायासँगै उक्त गीतले राष्ट्रिय ‘अवार्ड’समेत पाएको थियो । विसं २०६८ मा थापाले सङ्गीत दिनुभएका ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाइ’ लगायत लोकदोहोरी पनि अत्यधिक सफल भएका थिए ।

    मौलिक सृजनामा अब्बल थापाले अहिलेसम्म सातसय बढी गीतमा सङ्गीत र दुई सय बढीमा स्वर दिनुभएको छ ।‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ गीतले गायकका रुपमा थापालाई चिनाए भने मौलिक लयमा सृजित ‘बामरी’ गीतबाट पनि उहाँले प्रशंसा बटुल्नुभयो । 

    थापा र विष्णु माझीले गाएको ‘बोकेझार’ गीतबाट थापाले थप सफलताको सिँढी चढ्नुभयो । उहाँले गाएका र सङ्गीत दिएका ‘आइपुग्यो बागलुङ बजार’, ‘म जन्मेको ठाउँ’, ‘जाम सुस्तै’, ‘चौतारीको वर’, ‘आज सँगै’, ‘सयको गुन तिरौँला’, ‘म त गाउँले ठिटो’, ‘माया हाँसेको’, ‘शुभ विवाह लेखेको’लगायत गीत चर्चित छन् ।

    “पहिले गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो । अहिले हामीले लय सङ्कलन होइन सृजना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ”, थापाले भन्नुभयो । सङ्गीत व्यवसायसँग पनि जोडिएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी छ । 

    कम्पनीबाट प्रवद्र्धित गीत उहाँकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन् । थापासँग अन्तरराष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, बागलुङ कलाकार समाज, नेपाल सङ्गीत उद्योग सङ्घलगायत सङ्घसंस्थामा काम गरेको अनुभव छ । मुख्य विधा लोकसङ्गीत रहे पनि थापाले सुगम, गजल, चलचित्र, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिनुभएको छ । 

    साङ्गीतिक यात्राका क्रममा बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायत देशमा पुगिसकेको थापाले सुनाउनुभयो । उहाँ इमेज, बिन्ध्यवासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मानलगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend