काठमाडौं । ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गर्नुभएको छ ।
एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्।
प्रिमियर लिग खेल्न जाने नेपाली टिमको बिदाई समारोहमा उपस्थित युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसमक्ष राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम झैसम्म नपाएको गुनासो गरेका छन् । पौडेलले सरकारले दिने भनेको कूल रकमको ६० प्रतिशतजति रकम अझै नपाएको बताए ।
‘सरकारले घोषणा गरेको ५०/६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन ।’
यता युवा तथा खेलकुदमन्त्री श्रेष्ठले भने खेलाडीलाई आश्वासन दिँदै छिट्टै रकम निकासा गराउने प्रतिवद्धता जनाउनुभएको छ । नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ।
दोस्रो खेलमा वैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।