तुलसीपुर । तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ ।
अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।
मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अनुगमन हुँदै आएको र त्यस क्रममा सडक मानव भेटिएका छैनन् । सबै सडक मानवलाई उद्धार गरेर आश्रममा राख्न थालेपछि अब यहाँ त्यस्ता मानिस नभेटिका हुन् ।
हालसम्म ६० जनाभन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको छ । “हामी आश्रममा ल्याएर उपचार गर्छौँ, खाना,बा स दिन्छौँ”, उहाँले भन्नुभयो, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म ६० जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा ‘फलोअप’ पनि हुने गरेको उहाँले जानकारी दिनुभयो ।
अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइएको प्रमुख जोशीले बताउनुभयो । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
वडा कार्यालय, प्रहरीलगायत सर्वसाधारणले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेका छन् । मनकारी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।