काठमाडौँ । नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ।
सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो । मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।
समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ । नेपालले बुधबार साउदी अरेबियासँग खेल्दै छ । दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २र२ अंक जोडेका छन्।
समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ । समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ।
१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहँदै ६ अंक छ। कुवेत र युएईको ४/४ अंक छ।
अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।
प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।