गुल्मी । मादकपदार्थ सेवन गरि आफ्नै घरमा आगो लगाएका एक जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले दिएको जानकारी अनुसार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ गरिएको हो ।
आइतबार साँझ अत्याधिक मदिरा सेवन गरि आएका परियारले आफू बस्ने ढुङ्गा माटोले बनेको एकतले दुईकोठे घरमा आगो लगाउदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट लगाउँदा त्यस घरभित्र रहेको अन्नपात, लत्ताकपडा जलेर घर पूर्णरुपमा क्षति भएको छ ।
निज परियारले मदिरा सेवन गरेपछि स्थानीय छरछिमेकका घरमा समेत आगो लगाउने धम्की दिने गरेको र निजलाई पक्राउ गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोख्रेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको समन्वयमा रेखबहादुरकी श्रीमती सीता परियारलाई जिल्ला प्रशासन कार्यालयबाट राहत उपलब्ध गराइएको छ ।
आइतबार सोलार प्यानल पड्केर इस्मा– ६ बुल्मका मोटे कुमालको घरमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । सोलार प्यानल पड्केर आगलागी हुँदा घरगोठमा रहेका खाद्यान्न, लत्ताकपडा, काठदाउरा र भाँडाकुँडासहित एउटा बाख्रा जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रनाउ शंकर पोखरेलले जानकारी दिए ।
रेसुंगा नगरपालिकाबाट गएको दमकलको,स्थानीय नागरिक, इस्मा गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।