गुल्मी । गुल्मीको मदाने गाउँपालिका- १ अग्लुंगले सामुदायिक विद्यालयमा नियमित जाने अभिभावकलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने भएको छ ।
यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर- १,अग्लुंगले सामुदायिक विद्यालयको पठनपाठनलाई प्रभावकारी र अनुशासित बनाउने उदेश्यले अभिभावकलाई उक्त पुरस्कारसहित सम्मान गर्न लागेको वडा अध्यक्ष शुशील चन्दले बताए ।
शैक्षिकसत्र २०८१ देखि सुरु भएको यो अभियानसंगै एक शैक्षिकसत्रको अवधिमा सबैभन्दा धेरै दिन विद्यालयमा पुगी आफ्नो बच्चाको पढाइको बारेमा जानकारी लिने, विधालयको शैक्षिक सुधारमा सहयोग पुर्याउने अभिभावकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको वडा अध्यक्ष चन्दले जानकारी दिए । वडा अध्यक्ष चन्दका अनुसार सामुदायिक विद्यालयमा पुग्ने अभिभावकको हाजिरीको समेत व्यवस्था गरिएको छ ।
मदाने- १ अग्लुंग भित्रका रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुका अभिभावकलाई दैनिक उपस्थितिको ब्यबस्था गरी सबैभन्दा धेरै दिन विद्यालयमा पुगेर आफ्ना सन्तानको पढाइ प्रति चासो राख्ने ,विधालयको शैक्षिक एवं अन्य सुधारको लागि सुझाब तथा सुझाब कार्यन्वयनमा सहयोग पुर्याउने अभिभावकलाई मूल्यांकनको आधारमा शैक्षिकसत्रको अन्तिममा तीन हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिने निर्णय गरिएको उनले बताए ।
सामुदायिक विद्यालयप्रति अभिभावकहरुको चासो निकै नै कम हुँदै गएको हुँदा विद्यालयले पत्राचार गर्दा पनि अभिभावक उपस्थित नहुने समस्याले गर्दा शिक्षक,विद्यार्थी र अभिभावकबिच समन्वय हुन नसकेको अवस्था देखिएपछी यो अभियान सुरु गरिएको वडा अध्यक्ष चन्दले बताए ।
दुई माध्यमिक, चार आधारभूत र एक बाल विकास केन्द्र गरी सात वटा विद्यालय रहेका यस वडामा संचालन गरिने यो अभियानले सामुदायिक विद्यालयमा आशा गरे जस्तो गुणस्तरीय शिक्षा प्रदान गरी राम्रो नतिजा हाँसिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
