गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २, छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
थापा श्रीमानसँगै घाँस काट्न रेसुङ्गा नगरपालिका वडा नम्बर ३, दहडाँडामा जानुभएको र लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
दिउँसो ४ बजे घाँस काट्ने क्रममा लडेपछि उहाँलाई उपचारको लागि जिल्लाको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा अस्पतालले थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।