कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७, लान्द्रुकमा हनी हन्टिङ महोत्सव २०८१ हुने भएको छ ।
पर्यटकीय गाउँ लान्द्रुकमा आउँदो जेठ ८ देखि १० गतेसम्म महोत्सव हुने कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न, स्थानीय कला र संस्कृतिलाई संरक्षण र प्रवर्द्वन गर्न महोत्सव आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले बताए ।
“महोत्सवमा मोदी खोला किनाराको कोटेसाङ भीरमा १० देखि १२ घारको मह निकाल्ने योजना छ,” उनले भने, “‘महोत्सवले लान्द्रुकमा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनसँगै लेकाली महको बजारीकरण गर्ने अपेक्षा गरेका छौँ ।”
मह सिकार गर्ने परम्परा धान्न युवा पुस्तामा आकर्षण पैदा गर्न पनि महोत्सवले सघाउने आयोजकको अपेक्षा छ । अन्नपूर्ण गाउँपालिका प्रर्वद्वक रहेको महोत्सवमा विभिन्न सामाजिक सङ्घ, संस्थाले समेत सघाएका छन् । महोत्सव भिरौटे (भिरबाट मह निकाल्ने)हरूलाई सम्मान गर्ने कार्यक्रम छ ।
अन्नपूर्ण ७ का वडाध्यक्ष भरतमान गुरुङले महोत्सवमा भीरबाट मह निकालिने उल्लेख गरे । “भिरमौरीको मह जेठ र मङ्सिरमा गरी वर्षमा दुई पटक निकालिन्छ । यसपालिको महोत्सवमा मोदी खोला किनारको कोटेसाङ भीरका गोलाबाट मह निकालिनेछ,” उनले भने ।
भीरमौरी महको माग उच्च रहेको र तीन हजार रुपैयाँ लिटरमा बिक्री गर्ने योजना बनाएको महोत्सवका प्रचारप्रसार संयोजक एवं सचिव बलबहादुर क्षेत्रीले सुनाए ।