काठमाडौँ । कैलालीको धनगढीमा यही जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ ।
साहारा नेपाल युवा क्लबको आयोजनामा विगतका वर्षहरू झैँ यो वर्ष पनि प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता टी-२० फरमेटको प्रणालीबाट खेलाइने छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेल मैदानमा हुन लागेको हो । जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ । प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए ।
प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ । खेलमैदान सफाई देखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।
साहारा नेपालका अध्यक्ष अनन्त बोहराले समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको र स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको बताए ।
साथै अध्यक्ष बोहराले भने, निकट भविष्यमा सुदूरपश्चिम सुपर लिगलाई नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता बनाउने उद्देश्य रहेको पनि बताए । प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।