अर्घाखाँची । टेवा नेपालको आर्थिक सहयोगमा अर्घाखाँचीका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ ।
जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तिमा पुगेको आगोले त्यहाँका स्थानीय बासिन्दाहरु घरबार विहिन बन्न पुगेका थिए ।
नेपाल चेतना केन्द्र अर्घाखाँचीको पहलमा जिल्लामा पहिलोपटक आगलागीबाट पीडित बनेका ३१ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको छ ।
पीडित परिवारहरुलाई थोरै भएपनि राहतको अनुभूति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री सस्थांपक अध्यक्ष पूर्वसांसद निर्मला क्षेत्रीद्धारा हस्तान्तरण गरिएको थियो ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा न-१,३,४ र ५ मा वितरण गरिएको बताइएको छ । मालारानी गाउँपालिका वडा न-२ र ५, शितगंगा नगरपालिका वडा न-५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका वडा न-४ र ५, सन्धिखर्क नगरपालिका वडा न-२ मा आगलागी पीडितको घरमा पुगेर घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै पूर्वसांसद क्षेत्रीले आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्राकृतिक विपत्तिको घडिमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एकभएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्छ उहाँले भन्नुभयो, नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको हो ।





