रोल्पा । पहाडमा मानिस तराई तथा सहरमा सँरिया,सिमेन्ट,बालुवा,इट्टा प्रयोग गरी पक्की घर निर्माण गर्ने गरिन्छ भने छानोका लागि जस्ता प्रयोग गरिन्छ । तर पहाडका गाउँ घरमा ढुङ्गा,माटो र काठ प्रयोग गरी घरहरु निर्माण गरिन्छ र छानाको लागि ढुङ्गा प्रयोग गरिएको हुन्छ।रोल्पाको पश्चिम बेल्टमा रहेको एक ढुङ्गा खानी ओझेलमा पर्दै गएको छ।रोल्पाको परिवर्तन गाउँपालिका-६ इरिबाङको कोटडेरा भन्ने ठाउँमा रहेको ढुङ्गा खानी बन्द हुने अवस्था पुगेको छ।
कोटगैरा खानी भनेर चिन्ने घर छाने ढुङ्गाका लागि उपयुक्त खानी हो । पहिले रोल्पा जिल्लाको पश्चिमी बेल्टको विभिन्न गाउँ ठाउँमा घर छानको लागि ढुङ्गा आएर बोकेर लग्ने गरेको र छिमेकी जिल्ला रुकुम पश्चिम र रुकुम पूर्वमा समेत यहाँको ढुङ्गा लगिएको जेष्ठ नागरिक ज्ञानेन्द्र बुढामगरले बताउनुभयो।बुढाका अनुसार यो ढुङ्गा खानी हाम्रो पू्र्खा देखि सुरु भएको मानिन्छ र यहाँको ढुङ्गा धेरै गाउँ ठाउँमा पुगेको छ,उनले भने।अहिले पछिल्लो समय घरको छानामा ढुङ्गा प्रयोग गर्ने संख्या घटेको हो कि भन्न सकिन्छ त्यहीँ ढुङ्गा खानीमा काम गर्ने स्थानीय सिस्पाल बुढामगर बताउनुभयो।अहिले गाउँ घरमा धेरैले छानाको रूपमा जस्ता प्रयोग गरेको पाउछौं र अहिले छाने ढुङ्गाको पनि माग घड्दो अवस्थामा भएको बताउदै पहिले बर्षमा १५ देखि २० घरको ढुङ्गाको माग आउँथ्यो तर ३ र ४ बर्ष यता घड्दो अवस्थामा छ,उनले भने।
रोल्पाको ढुङ्गा खानीबाट घर छानको लागि ढुङ्गा बोक्न खानीमा पुगेको रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका वसन्त बाँठा मगरले बताउनुभयो।हामी हिडेर ढुङ्गा बोक्न त्यहाँ पुगेका थियौ र ढुङ्गा लिएर फर्किएका थियौ,बाँठा मगरले भने। ३० र ४० वर्ष पहिले यो खानीको छाने ढुङ्गाको मुल्य १ रुपयाँ देखि ५ रुपैयाँ सम्म थियो भने अहिले साना पाटा ढुङ्गाको मुल्य ५० रुपैयाँ छ भने ठूला पाटा ढुङ्गाको मुल्य १०० रुपैयाँ भएको परिवर्तन गाउँपालिका-६ का निवर्तमान वडाध्यक्ष भानसिङ बुढा मगरले बताउनुभयो।अहिले गाउँमा पनि सहरको सिस्टम आएको जस्तो छ,पहिले घर छानको लागि ढुङ्गा प्रयोग गरिन्थ्यो तर अहिले जस्ता पाता लगाउनेको रहर चलेको जस्तो छ,बुढाले भने।
पहिले १५ र १६ को उमेर हुँदा मैले पनि घर छानको लागि आमा बुबा लगायत गाउँका अन्य साथीहरूसँग ढुङ्गा लिनको लागि ढुङ्गा खानीमा आएको परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले बताउनुभयो।उतिबेला अरु ठाउँमा छाने ढुङ्गाको खानी थिएन यो ठाउँमा आएर ढुङ्गा लगेर गएको मैले बिर्सिएको छैन बुढाले अनुभव सुनाउनुभयो।अहिलेको जस्तो सडक सञ्जालको सुविधा थिएन स्वयम आफै आएर बोकेर लैजानुपर्थ्यो,उनले भने।
अहिले ढुङ्गा खानी नजिकै सडक समेत पुगि सकेको छ भने समिति मार्फत खच्चरले ढुवानी समेत गर्दै आएको छ।अहिले मानिसले नबोक्ने भएकोले सडक पुगेपछि ट्याक्टर लगायतका सवारी साधनले छाने ढुङ्गा लिएर जाने गरेको स्थानीयले बताएका छन।लोप हुन लागेको ढुङ्गा खानीको संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको स्थानीय सरकार र स्थानीय नागरिकको दायित्व रहेको छ।