गुल्मी । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान गुल्मीको भार्सेबाट बुटवलतर्फ जादै गरेको जिप कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना हुँदा सत्यवती गाउँपालिका-८ भार्से निवासी ३२ बर्षीय कमला बुढाथोकीको मृत्यु भएको छ भने ५ जना घाइते भएको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले दिनुभयो ।
पुर्तिघाट प्रहरी चौकीका अनुसार गुल्मीको चन्द्रकोटबाट पुर्तिघाट आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओक्याङ भन्ने स्थानमा आफै अनियन्त्रित भइ सडकबाट करिव ४ सय मिटर तल खसी दुर्घटना भएको प्रहरी चौकी पुर्तिघाटले जनाएको छ ।
दुर्घटना भएमा परि घाइतेको उद्दारका लागि पुर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक घनश्याम रिमालको कमान्डमा टोलि खटिएको छ । चालकसहित ८ जना सवार रहेको जिप घाइतेहरुलाई उद्दार गरि उपचारका लागि पाल्पा पठाइएको र ७ जना घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको सुचना अधिकारी प्रनाउ पोख्रेलले जानकारी दिनुभयो ।
यसैगरी रेसुंगाबाट तम्घास आउदै गरेको लु ८५ प १३६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोटरसाइकल दुर्घटनामा परि घाइते हुनेमा रेसुंगा नगरपालिका-१ उदिनढुंगा बस्ने १६ वर्षका आयुष घिमिरे र रेसुंगा नगरपालिका – २ बस्ने १७ वर्षका असिम पाण्डे रहेका छन ।
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका मध्य चालक आयुष घिमिरेलाई तम्घासको शुभ लक्ष्मी फार्मेसी तम्घासमा प्राथामिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाएको र मोटरसाइकलमा सवार असिम पाण्डेको प्राथामिक उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ शंकर पोख्रेलले बताउनुभयो ।