गुल्मी । गुल्मीको तम्घासमा सञ्चालन भएको प्रथम खुला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रामसीता मन्दिरले हात पारेको छ ।
ब्रदर्स युथ सोसाइटी क्लब गुल्मीको आयोजनामा चिदीचौर खेलमैदानमा जेठ १५ गते देखि सुरु भएको प्रतियोगिताको फाइनलमा कोब्रा ग्रुप तम्घास र रामसीता मन्दिर गुल्मी दरबार गैँडाकोटबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोल बराबर भएपछि पेनाल्टी सुटमा रामसीता मन्दिर विजयी भएको थियो।
सबैभन्दा बढी पुरस्कार राशिको यो फुटबल प्रतियोगितामा राममन्दिर गुल्मी दरबार गैँडाकोट, कोब्रा ग्रुप-१ तम्घास, रेसुंगा-३ शिवालय भाडगाउँ युथ क्लब, रेसुंगा-९ गोल्डेन स्टार युथ क्लब उपल्लो तम्घास,रेसुंगा-५ को उनाचौर फुटबल क्लब उनाचौर, रेसुंगा-१३ को दुबीचौर फुटबल क्लब दुबिचौर, पुल्चोक स्पोर्टस् क्लब तम्घास,योङ बोएज तम्घास, राम बाण गुल्म तम्घास र गुल्मी अस्पताल तम्घासले टिम दर्ता गरेको क्लबका सचिव रवि घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक रामसीता मन्दिरका सन्देश खनाल, सोही समूहका उत्कृस्ट खेलाडी अनुज गैरे भएका छन् । यसैगरी कोब्रा ग्रुपबाट बेस्ट डिफेन्डर रुमन श्रेष्ठ र सोही ग्रुपकै दिवेश छन्तेल बेस्ट स्टाइकरको र रामसीता मन्दिरका मनीष तामाङ प्लेयर अफ टुर्नामेन्टको उपाधि जितेको जानकारी क्लवले जनाएको छ ।
प्रतियोगितामा प्रथम उपाधि प्राप्त समुह राममन्दिरले दुई लाख दुई हजार दुई सय दुई र उपविजेता कोब्रा ग्रुपले एक लाख एक हजार एक सय एक रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।