काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अटल समर्थनका लागि समर्थकलाई धन्यवाद दिएका छन् ।
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान बङ्ग्लादेशसँगकाे खेलमा पराजित भएपछि भएको पत्रकार सम्मेलनमा रोहितले विश्वको जुनसुकै कुनामा गए पनि नेपाली समर्थकले हौसला दिएको भन्दै भावुक पनि बनेका छन्। नेपाली टोलीको प्रदर्शन जस्तो सुकै भए पनि समर्थकको उत्साह र हौसलामा कमी नआएको भन्दै उनले धन्यवाद दिएका छन् ।
दक्षिण अफ्रिकासँगको खेल १ रनले हारेपछि मैदानमा धेरै दर्शक रोएको भिडियो आफूले हेरेको र यो दृष्यले निकै दुःखी बनाएको कप्तान रोहितको भनाइ छ । ‘हाम्रा फ्यानहरूप्रति धेरै आभारी छौँ, अहिले हामीले गुमाएको उपहार भविष्यमा पुनः प्राप्ति गरेर समर्थकहरूलाई दिनेछौँ’, उनले भने ।
नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको तर विश्वस्तरमा आफ्नो रणनीति र भूमिकामा अझै स्पष्टता आवश्यक रहेको कप्तान पौडेलले बताएका छन् ।