काठमाडौं । नेपाली राजदूतावास अबुधाबीको संरक्षकत्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई र नेपाली समाज यूएईले संयुक्त रूपमा “श्रमिक सचेतना तथा सुरक्षित आप्रवासन सम्बन्धी बृहत् संवाद कार्यक्रम–भाग २” आयोजना गर्न लागिएको छ ।
कार्यक्रम यही १३ जुलाई २०२५, आइतबार दिउँसो २ बजे Club SK7, Concorde Creek View Hotel, दुबईमा हुने जानकारी राजदूतावासले जारी गरेको छ। कार्यक्रममा यूएईमा कार्यरत नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई वैदेशिक रोजगारीका क्रममा पालना गर्नुपर्ने व्यवहारिक, कानुनी, कन्सुलर, सामाजिक–स्वास्थ्य, सुरक्षा, वित्तीय सचेतना र विप्रेषणसम्बन्धी जानकारी प्रदान गरिनेछ । साथै, श्रम सम्बन्धी जिज्ञासाहरूको समाधान गरिने उद्देश्यले सङ्गठनहरू र नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि राजदूतावासले हार्दिक अनुरोध गरेको छ ।
यसअघि पनि अबुधाबीस्थित राजदूतावासले श्रम अधिकार र कन्सुलर सेवाबारे जागरुकता कार्यक्रमहरू चलाउँदै आएको छ, जहाँ ३०० भन्दा बढी नेपाली श्रमिकले लाभ लिएका थिए भनिएको छ ।