ढाका । आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्ने सहमति बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबीच भएको छ। यो सम्झौतामा जुलाईको अन्तिम साता तेस्रो चरणको शुल्क वार्ताअघि हस्ताक्षर गरिएको हो ।
अमेरिकाले शुल्क सम्झौता गर्नका लागि सुरक्षा सहयोगका शर्तहरू अघि सारेपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको थियो। यद्यपि, अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास निरन्तर जारी राख्ने घोषणा गरिसकेको छ ।
गहुँ आपूर्ति सम्झौतामा बङ्गलादेशका तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र अमेरिकाको तर्फबाट युएस गहुँ सङ्घका उपाध्यक्ष जोसेफ के सोवरले बङ्गलादेशका खाद्य सल्लाहकार अली इमाम मजूमदारको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।
खाद्य सल्लाहकार अली इमाम मजूमदारले यो सम्झौताले दुई देशबीच आपसी व्यापारिक सहकार्य विस्तार गर्ने र दुवै देशका नागरिकलाई लाभ पुर्याउने बताए। बङ्गलादेशको अन्तरिम सरकारद्वारा जारी विज्ञप्तिमा देशको खाद्य सुरक्षा, पोषण गुणस्तर र आपूर्ति सुनिश्चित गर्न उक्त सम्झौता महत्त्वपूर्ण भएको जनाइएको छ ।
यसअघि, जुलाई ९ को समयसीमाभन्दा दुई दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशमाथि ३५ प्रतिशत कर लगाउने निर्णय गर्दै उक्त शुल्क अगस्ट १ देखि लागु हुने घोषणा गरेका थिए ।