काठमाडौं ( एनआर क्रेशनले नयाँ गीत ‘तिम्रै हुँ म’ बजारमा ल्याएको छ । गायक नरेश रेग्मीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा स्वयं रेग्मी र चर्चित नायिका प्रियङ्का कार्कीले अभिनय गरेका छन् ।
‘म सास बन्न पाए तिम्रो मुटुसम्म पुग्थे’ बोलको गीतबाट चर्चामा आएका रेग्मीले पछिल्ला वर्षहरूमा निरन्तर नयाँ गीतहरू सार्वजनिक गर्दै आएका छन् । यसपटक पनि उनले नयाँ स्वाद र शैलीमा तयार गरिएको गीतमार्फत युवा पुस्ताको मन जित्ने प्रयास गरेका छन् ।
गीतमा वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको छ भने भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । नायिका प्रेंका कार्कीकाले यो गीतमा आफ्नो अघिल्ला भिडियोहरूभन्दा फरक शैलीमा अभिनय गरेकी छन् ।
उनले भनिन्, “यो भिडियोमा निकै मेहनत गरिएको छ, गीतको भाव र कथावस्तु दुवैले मन छुने छन्।” सोही गीतका गायक तथा मोडेल नरेश रेग्मीले भने यो गीत नयाँ पुस्ताको भावनासँग मेल खाने खालको बनेको बताए ।
“गीतले आजका युवाको प्रेम(कथा र संवेदना प्रस्तुत गर्छ, जसले नयाँ पुस्ताको मन जित्नेछ।” दाङमा जन्मिएका रेग्मी सानै उमेरदेखि संगीतप्रेमी हुन् । दुई दशकदेखि सांगीतिक यात्रामा सक्रिय उनले दर्जनौँ गीतमा स्वर दिईसकेका छन् र विभिन्न म्यूजिक भिडियोमा अभिनयसमेत गरेका छन् ।
हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका रेग्मीले विदेशमा रहे पनि हरेक वर्ष मातृभूमि र युवा पुस्ताको भावनासँग जोडिएका गीतहरू सार्वजनिक गर्दै आएका छन् । ‘तिम्रै हुँ म’ को म्यूजिक भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत श्रोतामाझ उपलब्ध छ ।
साथै छोटो समयमा नै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । भर्खरै बजारमा आएको तिम्रै हु म को युट्युव लिंक तल रहेको छ।