काठमाडौं । चर्चित गायिका रीता केसीले हालै मात्र आफ्नो नयाँ गजल गीत ‘म हराएकी हुँ त्यो शहरबाट’ सार्वजनिक गरेकी छिन् । लामो समयदेखि सांगीतिक यात्रामा सक्रिय केसीले यसअघि पनि आधुनिक, लोक तथा गजलसहितका दर्जनौँ लोकप्रिय गीतमा आफ्नो स्वर दिँदै आएकी छन् ।
गजलका शब्द कपिल अञ्जानले लेखेका हुन् भने संगीत राजेन्द्र बजगाईँले भरेका छन् । यस गजलको म्यूजिक भिडियोमा स्वयं गायिका रीता केसीले अभिनय गरेकी छिन् ।
आकर्षक अभिनय र भावपूर्ण प्रस्तुतीले भिडियोले छोटो समयमै दर्शकको मन जित्न थालेको छ । उक्त गजलको छायांकन राम कुमार केसीले गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
भिडियो Rita KC युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा समर्पित केसीका थुप्रै गीतहरू चर्चाको शिखरमा पुगेका छन् । उनी हाल स्वदेशमा मात्र होइन, विदेशका सांगीतिक कार्यक्रममा पनि नियमित रूपमा प्रस्तुत हुने गरेकी छन् ।
उनको जादुमय स्वर र आकर्षक प्रस्तुतीले दर्शकलाई सधैं मोहित बनाउने गरेको छ । नयाँ गजल ‘म हरायकी हुँ त्यो शहरबाट’ ले समेत उनको सांगीतिक यात्रामा अर्को सफलता थपेको छ ।