बङ्लादेश । नेपाल र बङ्गलादेशबीच दिगो कृषि, ग्रामीण उद्यमशीलता तथा जलवायु-अनुकूल विकासका क्षेत्रमा ज्ञान, अनुभव र सफल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सञ्चालक समिति (बोर्ड) को उच्चस्तरीय टोलीले बङ्गलादेशमा विशेष अध्ययन भ्रमण सम्पन्न गरेको छ । ‘सेरिङ प्रोग्राम’ (Sharing Program) अन्तर्गत आयोजित उक्त भ्रमणले दुई देशबीच कृषि नवप्रवर्तन तथा बजार प्रणाली विकासमा सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ ।

हेफर प्रोजेक्ट नेपालका बोर्ड अध्यक्ष भीष्म प्रसाईंको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बङ्गलादेशको जासोर जिल्लास्थित दक्षिण एशियाकै चर्चित फूल तथा कृषि व्यापार केन्द्र ‘गोडखाली बजार’को स्थलगत अवलोकन गर्दै त्यहाँको उत्पादन, संकलन, बजार व्यवस्थापन तथा मूल्य शृङ्खला प्रणालीबारे विस्तृत अध्ययन गरेको थियो। टोलीले स्थानीय कृषक, व्यवसायी, सहकारी संस्था तथा समुदायका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूले विकास गरेका सफल अभ्यासहरू नजिकबाट अवलोकन गरेको थियो ।

भ्रमणका क्रममा टोलीले स्थानीय ‘गोलाप को-अपरेटिभ सीएमसी’का पदाधिकारी तथा सदस्यहरूसँग विस्तृत छलफल गरेको थियो । कार्यक्रममा कृषकहरूले फूलबाट उत्पादन गरिने विभिन्न जैविक सामग्री, मूल्य अभिवृद्धि प्रविधि तथा बजारीकरणका सफल अभ्यासहरू प्रस्तुत गरेका थिए। विशेषगरी ‘गोलाप एण्ड जर्बेरा को-अपरेटिभ’ले सहकारीमार्फत उत्पादनदेखि बजारसम्मको व्यवस्थापन कसरी प्रभावकारी रूपमा सञ्चालन गरेको छ भन्ने विषय टोलीका लागि अध्ययनको केन्द्र बनेको थियो ।

जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने बङ्गलादेशको प्रयाससमेत भ्रमणको महत्वपूर्ण पक्ष बन्यो । टोलीले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली (सोलार इरिगेसन पम्प) तथा नवीकरणीय ऊर्जा प्रयोग गरेर सञ्चालन गरिएका कृषि अभ्यासहरूको स्थलगत निरीक्षण गरेको थियो । सीमित स्रोतको अधिकतम उपयोग गर्दै वातावरणमैत्री उत्पादन प्रणाली विकास गर्न सकिने बङ्गलादेशको अनुभव नेपाली कृषि प्रणालीका लागि पनि उपयोगी हुने विश्वास गरिएको छ ।

हेफर प्रोजेक्ट नेपालको सञ्चालक समिति सचिव निर्मला क्षेत्रीले यस भ्रमणले दुई देशबीच कृषि विकास, जलवायु अनुकूलन र ग्रामीण उद्यमशीलताका क्षेत्रमा ज्ञान तथा सफल अभ्यासको आदानप्रदानलाई थप मजबुत बनाउने बताउनुभयो । उहाँका अनुसार बङ्गलादेशका सफल मोडललाई नेपालको भौगोलिक तथा सामाजिक परिवेशअनुसार रूपान्तरण गरी लागू गर्ने सम्भावनाबारे गहन अध्ययन गरिएको छ, जसले भविष्यका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ ।

भ्रमणले महिला उद्यमशीलताको सशक्त पक्ष पनि उजागर गरेको थियो । स्थानीय महिला समूहहरूले नेपाली प्रतिनिधिमण्डललाई मौलिक सांस्कृतिक शैलीमा स्वागत गर्दै ताजा नरिवलको पानी, पुष्पगुच्छा र फूलका मालामार्फत आत्मीय सम्मान प्रकट गरेका थिए । यसले दुई देशका समुदायबीचको सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाएको अनुभूति गराएको थियो ।

कार्यक्रममा हेफर र जेसीएफ (JCF) को साझेदारीमा सञ्चालित ‘जलवायु-स्मार्ट तरकारी तथा फूल मूल्य शृङ्खला सुदृढीकरण परियोजना’ अन्तर्गत सफल उद्यमी सजायदा बेगमले आफ्नो उद्यम यात्राका अनुभव प्रस्तुत गर्नुभएको थियो । उहाँको सफलताको कथाले कृषि क्षेत्रमा महिलाको नेतृत्व, मूल्य अभिवृद्धि र उद्यमशीलताको सम्भावना स्पष्ट रूपमा उजागर गरेको थियो ।

गोडखाली क्षेत्रको अध्ययन तथा स्थानीय कृषकहरूसँगको संवाद सम्पन्न गरेपछि प्रतिनिधिमण्डल जासोरबाट करिब १८३ किलोमिटर दूरी पार गर्दै ढाकातर्फ प्रस्थान गरेको थियो । भ्रमणमा हेफर ढाका कार्यालयका प्रशासन प्रतिनिधि सुल्ताना, कृषि मूल्य शृङ्खला प्रबन्धक एकरामुज्जामन मुकुल, जासोर क्षेत्रीय कार्यक्रम प्रबन्धक सुल्ताना रुनो, कार्यक्रम अधिकृत नइम तथा जेसीएफका प्रतिनिधिहरूले महत्वपूर्ण सहजीकरण गरेका थिए ।

हेफर प्रोजेक्ट नेपालको यो अन्तरदेशीय अध्ययन भ्रमण केवल अवलोकनमा सीमित नभई नेपालमा कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक बजार प्रणाली, सहकारी संरचना, मूल्य शृङ्खला विकास र जलवायु-अनुकूल प्रविधिसँग जोड्ने दिशामा महत्वपूर्ण सिकाइका रूपमा हेरिएको छ । प्राप्त अनुभव र ज्ञानलाई नेपाली सन्दर्भमा रूपान्तरण गर्न सकिएमा किसानको आयवृद्धि, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा दिगो कृषि विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।
