काठमाडौं । लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र उत्पादन कक्षभरि पलाएका लहराले साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको विगत सम्झाइरहेको थियो। तर अहिले त्यही उद्योगको वातावरण फेरिएको छ। वर्षौँदेखि मौन रहेका मेसिन चल्न थालेपछि उद्योग परिसरमा फेरि लुम (तान) को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ।
साढे दुई दशकसम्म बन्द रहेको उद्योग पुनः सञ्चालनको तयारीमा पुग्दा प्राविधिक राजप्रसाद अमात्यका लागि त्यो क्षण भावुक बन्यो। लामो समयदेखि थन्किएका र जीर्ण अवस्थामा पुगेका मेसिनहरू नियाल्दा उहाँका आँखाबाट आँसु झरे।
“हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो,” अमात्यले भावुक हुँदै भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ।”
वर्षौँसम्म प्रयोगविहीन बनेका मेसिनमा पुनः प्राण भर्नु सामान्य काम थिएन। धुलोले ढाकिएका उपकरण, बिग्रिएका संरचना र जीर्ण अवस्थामा पुगेका उत्पादन कक्षलाई क्रमशः मर्मत तथा व्यवस्थापन गर्दै उद्योगलाई पुनः सञ्चालनयोग्य बनाइएको हो।
कहिल्यै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र स्वदेशी कपडा उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको हेटौँडा कपडा उद्योग बन्द भएपछि यसको परिसर लामो समयसम्म सुनसान बनेको थियो। उद्योगका मेसिनहरू मौन हुँदा उत्पादनसँगै त्यससँग जोडिएका रोजगारी र औद्योगिक गतिविधि पनि रोकिएका थिए।
तर अहिले मेसिनको आवाज फर्किएसँगै उद्योगको पुरानो स्मृति पनि पुनः जीवित भएको छ। वर्षौँदेखि थन्किएका मेसिनहरू चल्न थालेपछि उद्योगमा काम गर्ने प्राविधिक र कर्मचारीहरूमा समेत उत्साह देखिएको छ।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन केवल एउटा बन्द उद्योगमा मेसिन चल्नु मात्र नभई वर्षौँदेखि थन्किएको नेपालको औद्योगिक सम्भावनालाई पुनः जगाउने प्रयासका रूपमा समेत हेरिएको छ।
साढे दुई दशकसम्म मौन रहेको उद्योगमा फेरि सुनिन थालेको ‘खटखट’ ले एउटा सन्देश दिएको छ—बन्द भएका उद्योगलाई सही योजना, प्राविधिक मेहनत र इच्छाशक्तिका साथ पुनः जीवन दिन सकिन्छ।