काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी कात्तिक ९ गते (२६ अक्टोबर) देखि सुरु भएर २१ नोभेम्बरमा फाइनलसँगै सम्पन्न हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमै रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यसले एनपीएलको तेस्रो संस्करणको सुरुआत नै उच्च प्रतिस्पर्धाबाट हुने संकेत गरेको छ।
क्यानले सार्वजनिक गरेको तालिकाअनुसार १५ नोभेम्बरसम्म समूह चरणका खेलहरू सञ्चालन हुनेछन्। यसपटक पनि दर्शकले दिउँसोका साथै फ्लडलाइटमा रात्रिकालीन खेल हेर्न पाउनेछन्।
समूह चरणपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्। १७ नोभेम्बरमा क्वालिफायर–१ मा पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ। त्यसको भोलिपल्ट १८ नोभेम्बरमा एलिमिनेटर खेल हुनेछ, जहाँ तेस्रो र चौथो स्थानमा रहने टोली आमनेसामने हुनेछन्।
त्यसपछि १९ नोभेम्बरमा क्वालिफायर–२ हुनेछ। क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबीच हुने यो खेलले फाइनल पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ।
एनपीएलको तेस्रो संस्करणको फाइनल २१ नोभेम्बरमा हुनेछ।
एनपीएलको इतिहासमा पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। सुदूरपश्चिम रोयल्स भने हालसम्म दुवै संस्करणमा उपविजेता बनेको छ। नयाँ संस्करणमा टोलीहरूको तयारी, विदेशी तथा स्वदेशी खेलाडीको सहभागिता र उद्घाटन खेलमै हुने साविक विजेता तथा उपविजेताबीचको भिडन्तले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।