काठमाडौं । ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू १५ र यू १७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन एसियाको डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत हुन लागेको यस प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले गर्नेछ ।
संघले बिहीबार पत्रकार सम्मेलन अयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो । भदौ १ गतेदेखि ५ गतेसम्म हलचोकस्थित एपीएफ क्लबको कभर्डहलमा हुने च्याम्पियनसिपमा यू १५ र यू १७ मा गरी व्यक्तिगत र टिम प्रतिस्पर्धा गरी कूल १२ इभेन्ट समावेश छ । यू १५ इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।
यू १७ तर्फ पनि इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ प्रतिस्पर्धामा खेल हुनेछ । यू १५ र यू १७ दुवैमा टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा हरेक देशका ८–८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । नेपाली टिममा १६ खेलाडी छन् । व्यक्तिगत प्रतिस्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने व्यवस्था गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ । च्याम्पियनसिपमा गर्ल्स र ब्वाइज दुवैतर्फ २६/२६ गरी कुल ५२ खेलाडी सहभागी हुने संघले जनाएको छ ।
नेपाल ब्याडमिन्टस संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो च्याम्पियनसिप नेपालमा हुनु महत्वपूर्ण रहेको बताए । हाम्रो १६ जना युवा खेलाडीले एकै पटक खेल्ने अवसर पाउनेछन् । यदी बाहिर जानु परेको भए हामीले त्यति खेलाडी पठाउन गाह्रो थियो,’ श्रेष्ठले भने, ‘त्यसमा अन्य चार विभिन्न कार्यक्रम पनि हुँदैछ । यसका लगि ब्याडमिन्टन एसियालाई धेरै धन्यवाद ।’ च्याम्पियनसपिपकै अवसरमा काठमाडौंमा साउथ एसिया लिडर डेभलपमेन्ट मिटिङ, साउथ एसिया वुमन इन ब्याडमिन्टन वर्कसप, साउथ एसिया रिजनल अम्पयार्स कोर्स र साउथ एसिया जुनियर ट्रेनिङ क्याम्प पनि आयोजना हुँदैछ ।