खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करिब रु दुई करोड मूल्य बराबरको १ हजार ३१५ किलोग्राम लागूऔषध गाँजा नष्ट गरेको छ। प्रहरीले महिनादिनअघि ट्रकको फल्स बटम बनाएर लुकाइराखेको अवस्थामा बरामद गरेको गाँजा कानुनी प्रक्रिया पूरा गरी नष्ट गरेको हो।
गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गमा जङ्गलतर्फ रोकेर राखिएको ट्रक शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा ट्रकमा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकको चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाएर गाँजा लुकाइएको थियो।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत वालिङमा रोकिराखिएको ट्रकबाट गाँजा बरामद भए पनि त्यसबेला चालक भने फेला परेका थिएनन्। चालक फरार रहेकाले गाँजाको वास्तविक धनीको पहिचानसमेत हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुधाथोकीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनामा संलग्नताको अनुसन्धानका क्रममा ट्रकका धनीलाई मंगलबार पक्राउ गरिएको छ। फरार चालक तथा गाँजाको स्रोत र गन्तव्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो। ठूलो परिमाणमा लागूऔषध ट्रकभित्रै विशेष संरचना बनाएर लुकाइएको भेटिएपछि प्रहरीले घटनालाई थप अनुसन्धानको विषय बनाएको छ।