काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी साता संयुक्त राज्य अमेरिका जाने भएको छ। प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको राष्ट्रिय हित, कूटनीतिक प्राथमिकता र समसामयिक अन्तर्राष्ट्रिय विषयमा नेपालको धारणा प्रस्तुत गर्ने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीको नेतृत्वमा आफू सहितको नेपाली टोली महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने जानकारी दिएका हुन्।
मन्त्री खनालका अनुसार संयुक्त राष्ट्रसंघको महासभा आगामी सातादेखि सुरु हुँदैछ। महासभामा नेपालको सहभागिताका क्रममा राष्ट्रिय हित तथा प्राथमिकताका विषयसँगै अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक विश्व परिस्थितिबारे नेपालको दृष्टिकोण प्रस्तुत गरिनेछ।
बैठकमा मन्त्री खनालले महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता अमेरिका प्रस्थान गर्ने जानकारी दिएका थिए।
महासभामा नेपालको सहभागितासँगै जलवायु परिवर्तन पनि प्रमुख एजेन्डाका रूपमा उठाउने विषयमा छलफल भएको छ। समितिको बैठकमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञहरूसँग छलफल गर्दै नेपालले भोगिरहेको जलवायुजन्य जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तका विषयमा समेत धारणा आदानप्रदान गरिएको थियो।
नेपालले महासभाको अन्तर्राष्ट्रिय मञ्चमार्फत जलवायु परिवर्तनबाट उत्पन्न चुनौती, त्यसबाट नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेका असर तथा समस्या समाधानमा विकसित मुलुक र अन्तर्राष्ट्रिय समुदायको भूमिकाबारे विषय उठाउने तयारी गरेको छ।
मन्त्री खनालले महासभामा नेपालको सहभागिता देशका कूटनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी धारणा विश्व समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुने बताएका छन्।