चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै राजधानी काठमाडौंसँगको मुख्य सडक सम्पर्क पुनः सहज हुने भएको छ।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरको करिब १०० मिटर सडकको तल्लो भाग कटान गरी बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक नै भासिएपछि ठूला सवारीसाधनसहित नियमित यातायात प्रभावित बनेको थियो।
अवरुद्ध सडक खुलाउन भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक नयाँ ट्र्याक निर्माण थालिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक निर्माण कार्य पूरा भएपछि बिहीबार बिहानदेखि सडक नियमित रूपमा सञ्चालनमा ल्याइएको हो।
बाढी तथा नदी कटानबाट ठूलो क्षति पुगेको सडकमा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएको थियो। दुई दिनअघिदेखि सडकमा रोकिएका केही सवारीसाधनलाई साँझबाटै कटाउन सुरु गरिए पनि आजदेखि भने नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।
तुइन खोलाको रोकिएको काम पनि रोकियो
कृष्णभिरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएको सडक तथा पहिरो रोकथामको कामसमेत आजदेखि रोकिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभिरमा यातायात सञ्चालन भएपछि तत्कालका लागि तुइन खोलामा आंशिक रूपमा सडक रोकेर भइरहेको पहिरो रोकथामको काम रोकिएको हो।
कृष्णभिरमा लामो समय सडक अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने ठूला मालवाहक सवारीसाधन प्रभावित भएका थिए। यसको प्रत्यक्ष असर राजधानीको आपूर्ति व्यवस्थामा समेत परेको थियो। विशेषगरी एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको र भदौ १४ गते आएको थप बाढीले कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुर्याएको थियो। अन्य स्थानमा यातायात क्रमशः सहज भए पनि कृष्णभिरमा सडकको ठूलो हिस्सा नै भासिएपछि लामो समय समस्या कायम रहेको थियो।
पृथ्वी राजमार्गको यो खण्डबाट दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले सडक सञ्चालनमा आएसँगै काठमाडौं, चितवन र देशका विभिन्न भागबीचको आवागमन तथा मालसामान ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।