Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अकबरे खुर्सानीको नामले चिनिदैँ रिब्दीकोट गाउँपालिका


१७, फागुन २०८०
  • 162
    SHARES
  • अकबरे खुर्सानीको नामले चिनिदैँ रिब्दीकोट गाउँपालिका

    विष्णु पाण्डे,पाल्पा । रिब्दीकोट गाउँपालिकालाई अकबरे खुर्सानीको नामले चिनिन लागेको छ । पाल्पा जिल्लामा पर्ने यस पालिकाले अकबरे खुर्सानीमा सफलता हासिल गरेसँगै यस क्षेत्रका कृषकहरु थप उत्साहित भएका छन ।

    परम्परागत खेती गर्दै आएका यस क्षेत्रका कृषकहरुको खेतीबाली बाँदर, बदेल, दुम्सी जस्ता बन्य जन्तुले नष्ट गर्न लागेपश्चात बैकल्पिक खेतीका रुपमा अकबरे खुर्सानी, अदुवा र बेसार खेती तर्फ उन्मुख भएका हुन । अहिले रिब्दीकोट गाउँपालिकाको करिब ११ सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेत गरिएको छ ।

    ४०८ रोपनी क्षेत्रफलमा बेसार खेती गरिएको छ । बाँझो जमिनको उपयोग गर्दै खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएपश्चात पालिकामा यसै वर्षमात्र ९८ रोपनी जग्गा बाँझो जग्गा खनजोत गरी खुर्सानी र बेसार रोपण गरेका छन । यस पालिकामा अहिले वर्षौ देखि बाँझिएका जमिनहरु हराभरा हुन थालेका छन । 

    बाझिएको जमिनको उपयोग गर्दै बेसार खेतीमा आम्दानी बढाउन गाउँपालिकाले अकबरे खुर्सानी र बेसार खेती प्रर्बद्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार यहाँका २ सय ९५ घरधुरीहरुले ४ सय ८ रोपनी जमिनमा बेसार खेती गरेका छन् । जसमा ९८ रोपनी बाँझिएर खेर गएको जमिनलाई यसै वर्ष उपयोग गरिएको छ र आगामी वर्षहरुमा पनि बाँझो जमिनको उपयोग गर्ने कार्यलाई निरन्तरता दिदै जाने योजना निर्माण गरेका छौ । 

    रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानी र बेसार खेती गर्ने उद्यमीहरुको संख्या दिनानुदिन बढ्दो छ । तर रिब्दीकोट ४ भैरवस्थानकी मीना कार्कीलाई भने गाउँभरीका महिला दिदी वहिनीले खुर्सानी लगाउने निधो गरेपछी चिन्ता पर्न थाल्यो, एक/दुई जनाले लगाउँदा त विक्री गर्न गाह्रो हुने ठाउँमा गाउँका ४ सय वढीले लगाउँदा के होला र भन्ने लाग्थ्यो ।

    अकबरे खुर्सानी उत्पादन गर्नुभन्दा बेच्ने कसरी भन्ने चिन्ता थियो, “सबैले लगाउँदा लहलहैमा लगाइयो,” मीना भन्नुहुन्छ, “मकै लगाएको भए बरु पोलेर खान पाइन्थ्यो, खुर्सानी न पोलेर खानु, न उसुनेर,” ३ रोपनी जग्गामा ३ हजार बोट खुर्सानी लगाएकी मीनालाई अन्ततः खुर्सानी पाकेपछी भने बेच्ने समस्या भने रहेन । 

    रिब्दीकोट गाउँपालिकाको अकबरे खुर्सानी र बेसारको उत्पादन तथा वजारीकरणको अभियानलाई हेफर प्रोजेक्ट नेपालले प्राविधिक सहयोग र साझेदारी गर्दै आएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार रिव्दीकोटको खुर्सानी विक्रीका लागि विभिन्न कम्पनीहरुसँग सम्झौता गरिएको छ । साथै पोखरा, बुटवल, नारायणगढ लगायतका ठुलाबजारमा सञ्चालित विभिन्न अचार उद्योग तथा पसलहरुमा खुर्सानी विक्री भईरहेको छ ।

    यस वर्ष पालिकामा ५ सय मेट्रिकटन खुर्सानीको उत्पादन लक्ष्य राखिएकोमा २ सय मेट्रिकटन खुर्सानीको बजारीकरण भईसकेको छ । खुर्सानी एकैसाथ धेरै पाक्ने र विक्री गर्न गाह्रो हुने भएकोले रिव्दीकोट गाउँपालिका, कृषि ज्ञान केन्द्र र हेफरको सहयोगमा खुर्सानीको बजारीकरणका लागि संकलन तथा प्रशोधन केन्द्र, कोल्ड स्टोर र सोलार ड्रायर निर्माण गरिएको छ ।

    पालिकामै खुर्सानी प्रशोधन गर्ने र अचार बनाउने सुविधा सहितको उद्योग स्थापना भएको छ । हेफरकै सहयोगमा साना किसान सहकारी संस्था र भैरवस्थान बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको कृषि ढुवानीको साधनले खुर्सानीको बजारीकरणमा थप टेवा पुगेको छ । 

    रिब्दीकोट गाउँपालिकाका कृषि प्राविधिक रञ्जिव कुँवर भन्नुहुन्छ “पाल्पा जिल्लामा पहिलो पटक परीक्षणको रुपमा रोपण गरिएको खुर्सानीको बजारीकरण गर्न सहज थिएन । खुर्सानी खरिद गर्ने कम्पनीहरुले विषादी र पिरोको मात्रा कति छ भन्ने प्रश्न गर्न थाले । यसको परीक्षण  गर्नु चुनौतीपूर्ण थियो ।

    विभिन्न संघसंस्थाहरुको सहयोगमा रिब्दीकोट गाउँपालिकामा उत्पादित खुर्सानीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गरिएको छ । केन्द्रिय कृषि प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट नामक विषादीको रुकावटको मात्राको परीक्षण गरिएको हो । 

    परीक्षणबाट कार्वामेट ४.८५ प्रतिशत र अर्गानोफस्फेट ८.२६ प्रतिशत रहेको छ । ३५ प्रतिशत भन्दा कम रुकावटको मात्रा आउने खुर्सानी खान योग्य मानिन्छ । विषादी नभएको र पिरोको मात्रा बढी भएको पाईएपछी खुर्सानी विक्रीमा सहज भएको छ ।” 

    कृषकको उत्पादन सोझै ग्राहकसंग पुर्‍याउन ‘कृषि एम्बुलेन्स

    हेफरसँगको साझेदारितामा कार्यक्रम सञ्चालन भएको अर्को पालिका तानसेन नगरपालिका हो । व्यवसायिक बाख्रा पालन, बंगुर पालन, दुग्ध उत्पादन, तरकारी खेती, स्थानीय कुखुराको प्रवद्र्धनका लागि साझेदारी कार्यक्रम केन्द्रित भयो । कार्यक्रमले कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्दै यसको बैज्ञानिक बजारीकरणमा सहयोग गरेको छ । 

    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण यातायात, वजार लगायत प्राय सबै ठप्प थियो । तानसेनमा २ हजार वढी युवा तथा कृषकहरु परियोजनामा आवद्ध थिए । उनीहरुले उत्पादन गरेको तरकारी मुख्य चुनौतीको विषय थियो । हामीले सहयोग गरेका कृषकहरुले धमाधम तरकारी उत्पादन सुरु गर्नुभयो ।

    लकडाउनका कारण सबैतिर बन्द भयो । त्यस्तो परिस्थितीमा तानसेन नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गर्ने अवधारणा आयो । किसानहरुको उत्पादनलाई परियोजनाले कृषकहरुको घरमै पुगी खरिद गरी वजारका चोकहरुमा पुर्याई विक्री गर्नु कृषि एम्बुलेन्स थियो ।

     तत्कालिन प्रशासनबाट स्वीकृती लिएर कृषि एम्बुलेन्सको व्यानर टाँस गरी वजार डुलाएर विक्री गरिदै आएको थियो । कृषि एम्बुलेन्स धेरैले रुचाए । ग्राहकले आफ्नै घर टोलबाट ताजा र सस्तो तरकारी पनि खान पाए, कृषकको उत्पादनले वजार पनि पायो । कृषकको उत्पादन सोझै उपभोक्ता सम्म पुग्यो, कृषकले उचित मुल्य पाए र उपभोक्ताले शुलभ र सस्तो रुपमा उपभोग गर्न पाए ।

    हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार साम्व्यु भन्नुहुन्छ, कृषि एम्बुलेन्सको अवधारणाले मुर्त रुप पाए पछि हेफरको सहयोगमा पाल्पा जिल्लामा १८ वटा ढुवानीका साधनहरु वितरण गरिएको छ । यसबाट स्थानीय स्तरमा उत्पादित कृषी उपज सहज र उचित मूल्यमा बजारीकरण गर्न सहयोग पुगेको छ ।  

    जिउँदो तौल प्रणालीमा बाख्रा बिक्री

    हेफर परियोजना र तानसेन नगरपालिकाको सहयोगमा तानसेनमा संचालित परियोजनाबाट यहाँको वडा नं. १२ र १३ मा बाख्राहरुको उत्पादन र उत्पादकत्व उल्लेख्य मात्रमा बढेको छ ।

    बाख्राको वजारीकरणको लागि परियोजनाले केही नयाँ गर्ने सोच बनायो । हेफरको सहयोग र सहजीकरणमा सञ्चालित मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थासंगको सहकार्यमा बीउ बाख्राको स्रोत केन्द्रको रुपमा यस क्षेत्रलाई विकास गरिएको छ । 

    यस क्षेत्रमा उत्पादित बाख्राहरु बीउको रुपमा होस या मासुको रुपमा विक्री गर्दा  जिउँदो तौल प्रणालीको अवलम्बन गरिन्छ । किन्ने र बेच्ने दुवैलाई मर्का नपरोस भन्ने उद्देश्यले वैज्ञानिक वजार व्यवस्थापनका लागि यो प्रणालीको अभ्यास गरिएको छ ।

    यसबाट किसानहरुले बाख्राको उचितमूल्य पाएको तानसेन नगरपालिका १२ की बाख्रा उद्यमी कान्तिसरा रानाले बताउनुभयो । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाले सहकारीमा आवद्ध ४ सय २४ परिवारलाई बाख्रा स्रोत केन्द्रमा आवद्ध गरेको छ । 

    सहकारीले बाख्राको रेकर्ड राख्न कम्प्यूटर सफ्टवेयरको विकास गरेको छ । सहकारीका अध्यक्ष कमला भण्डारीका अनुसार सहकारीले भेटेनरी प्राविधिक कृषकका घरघर पठाउने र बाख्रा जन्मे देखीको तौल लिने र शारीरिक परीक्षण गर्ने गर्दछ ।

    कम्प्युटर सफ्टवेयरका आधारमा सिफारिस बाख्रालाई बीउ बाख्राको रुपमा विक्री गरिन्छ भने बाँकीलाई मासुको रुपमा विक्री गरिदै आएको छ । वीउ बाख्राको स्रोत केन्द्र संचालनले अहिले यस क्षेत्रका किसानहरुले बाख्रा विक्री गर्दा उचित मूल्य पाएका छन् भने बाख्राको नश्ल सुधारमा ठुलो टेवा पुगेको छ । 

    बजारीकरणको सुनिश्चितताका लागि कृषि उपज थोक बजार तथा प्रशोधन केन्द्र :

    तानसेन नगरपालिकाको होलाङ्गदीमा कृषि उपज थोक वजार तथा प्रशोधन केन्द्र निर्माण गरिएको छ । लुम्बिनी प्रदेश, कृषि तथा भुमि व्यवस्था मन्त्रालयको रु ८,१३,७२४, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेबाट रु ४६,३६,७४३, तानसेन नगरपालिकाबाट रु ४१,२३,६९८, हेफर ईन्टरनेशन नेपालबाट रु ८५,००,००० र मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट रु ५२,००,००० लाख गरी जम्मा रु २,३२,७४,१६५ लागतमा निर्माण गरिएको कृषि उपज थोक बजार तथा प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । 

    तानसेन नगरपालिका १०, तेल्घाकी ४२ वर्षिय हेमा अस्लामी मगर गाउँमा काउली, वन्दा, सिमी, टमाटर खेती गरेर जिविका चलाउदै आउनुभएको छ । गाउँको उत्पादनले वजार नपाउँदा, व्यापारीकै मूल्यमा विक्री गर्नुपरेको उहाँको भनाई छ । ‘सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ,’ अस्लामी भन्नुहुन्छ, ‘थोक वजार संचालन भएपछी उचित मूल्य पाउने र बजारीकरणका लागि सहज हुने अपेक्षा गरिएको छ ।’ 

    हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मी भन्नुहुन्छ, तानसेन र आसपासका क्षेत्रमा बढ्दै गएको तरकारी उत्पादनको व्यवस्थित बजारीकरणका लागि कृषि उपज थोक बजार तथा प्रशोधन केन्द्र निर्माण गरिएको हा । यसबाट दैनिक १० मेट्रिकटन कृषि उपज विक्री गर्ने लक्ष्य छ ।

    प्रति घण्टा ७५० केजि तरकारी प्रशोधन गर्न सक्ने, ओजोन ग्याँसको मिश्रणद्धारा तरकारी धुने सुविधा सहितको मेशिन जडान गरिएको र १६ टन तरकारी राख्न सकिने क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ । जसले गर्दा यस क्षेत्रका कृषकहरुले उचित मुल्यमा तरकारी विक्री गर्न सक्नेछन भने उपभोक्ताले स्वच्छ र गुणस्तरीय तरकारी उपभोग गर्न सक्नेछन ।  

    यसमा विभिन्न विक्री कक्षहरुको साथै कृषि उपज उत्पादनहरुको सर्टिङ्ग, ग्रेडिङ्ग, प्रोसेसिङ्ग, लेबलिङ्ग र प्याकेजिङ्ग गरी विक्री गर्ने व्यवस्था मिलाइएको छ । सर्टिङ्ग, ग्रेडिङ्ग, प्रोसेसिङ्ग, लेबलिङ्ग र प्याकेजिङ्ग गरी विदेशमा समेत निर्यात गर्न सकिने मेशिन जडान गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

    कृषि उपज पशु वस्तुको उत्पादन र उत्पादकत्व बृद्धि गरी यसको बैज्ञानिक बजारीकरणका लागि साझेदारी कार्यक्रमले टेवा पर्याउदै आएको छ । यसबाट कृषकहरु थप उत्साहित भई गुणस्तरीय उत्पादनमा लागि पर्ने र उत्पादित वस्तुले उचित मुल्य प्राप्त गर्ने भएकोले यस तर्फ कृषकहरुको आकर्षण बढेको छ । 

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • भोटेकोसीको ११औँ दिन : राहतको थुप्रो, पीडितको पीडा-समन्वय कहाँ चुक्यो?

    निर्मला क्षेत्रीको खबरदारी-‘उद्धार कहाँ चुक्यो, समन्वय किन कमजोर भयो? अब भाषण होइन, पीडितलाई जीवन फर्काउने

  • ७ मिनेटमा २२ किलोमिटरको विनाश : हिमालबाट खसेको हिउँले कसरी निम्त्यायो रसुवागढीको महाविपत्ति?

    बिशेष रिपोर्ट ५,२०० मिटर माथिबाट खसेको हिउँको ढिस्को, त्यसबाट उत्पन्न ऊर्जा र ५.२ म्याग्नेच्युडको कम्पन-रसुवागढी बाढी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend