नेपालगञ्ज । बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका बाँकी रहेका छन्। पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ। सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ।
बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ। नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ। छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ।
यो वर्ष दादुरा महामारी फैलिएकाले बैशाखमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन नसकेको खोप सुपरभाइजर श्रेष्ठको भनाइ छ। असारको पहिलो सातासम्ममा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी रहेको छ।