रोल्पा। मगर समुदायको भूमे नाँच नजिकिएसगैँ यतिबेला रौनकता सुरु भएको छ।असार १ गते आउन बाँकी अब दुईदिन मात्र रहेको छ यो सँगै पश्चिमी नेपालका केही ठाउँमा भूमे नाँचलाई तीब्र बनाइएको छ। जसमा रुकुम पश्चिम,पूर्वी रुकुम,रोल्पा लगायत विभिन्न जिल्लामा मगर बाहुल्यता भएको गाउँमा अल्पसङ्ख्यक रुपमा भाँडाकुँदा बनाउनलाई सिर्पाली बिक र कपडा सिलाउने र बाँजागाँजा बजाउने दमाई(परियार)को मिश्रित बसाइँ थियो।
भूमे पर्व किन मनाईन्छ ?
खोलाको पानी लिन गाउँबाट केही माथि ठुला–ठुला पहरा–पहाडहरु काँटेर जानु पर्दथ्यो।खोलामा पानी भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराइरहेका हुन्थे । यसरी पानी भर्न जाने मान्छे हराउँदै जाँदा गाउँ नै भावविह्वल भयो । यसरी गाउँ नै शोकमा डुबेपछि गाउँका मुखियाले गाउँभेला बोलाइ मान्छे हराएको पत्ता लगाउन गाउँका सबैलाई खटाउन्छन् । ५/६ जनाको टोली बनाएर पानी भर्न लगाउँदा फर्कने क्रममा पछिल्लो पानी भरुवालाई पहराको मुनिबाट निस्केको सर्पले खाएको देख्छन्। यसरी सर्पले खाएको थाहा पाएपछि गाउँलेहरु भेला भई कसरी सर्पलाई ठिक बनाउन सकिन्छ भनेर छलफल हुँदा सिर्पाली बि.कले म त्यो सर्पलाई आफ्नो काबुमा ल्याउन सक्छु भनेपछि सिर्पाली बि.क एक धार्नीको सनासो (तातो वस्तु समात्ने फलामबाट बनेको उपकरण)बनाएर पानी भर्न मान्छे पठाइन्छ र सर्प खान निस्केको बेला सनासोले सर्पको घाँटीमा अठ्याउँछ र सिर्पालीले सोध्छन् "तँ को होस् तैले किन मानव क्षति बनाइरहेको छस् ? " भन्दा सर्पले सिर्पालीलाई आग्रह गर्छ ‘मलाई नमार मनुखे,म भूमि देवता जेठको मसान्तको दिन दुध मात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पूजा गर्नु मैले मानव क्षति पनि गर्दिनँ र बाढीपहिरो पनि रोक्छु’भनेपछि त्यही वर्षबाट पूजा गर्न साथ कुनै मानवीय क्षति भएन र बाढीपहिरो पनि गएन। त्यसैले भूमि देवता माथि विजय प्राप्त गरेको उपलक्ष्यमा "भूमेपूजा"भूमे नाच सुरु भएको इतिहास विद्यमान छ ।
ठाउँ अनुसार भूमे पर्वको नामाकरण:
रोल्पाको थवाङ्मा,क्याङसी,महतमा झ्यामकरी र भलक, काँक्री,लुकुमतिर नोगोवाङे र भूमे तथा तकसेरातिर भुल्कु भन्छन्।
भूमेको औपचारिक फुकुवा:
भूमेको औपचारिक फुकुवा गाउँ अनुसार फरक हुने भएकोले एक रुपता भने छैन तर जसले जति गते भूमे पर्व फुकाए पनि जेठ महिनामै फुकाउँछन्।कुनै गाउँमा जेठको १ गते,कुनै गाउँमा जेठ १५ गते भने कुनै गाउँमा पुन्नीको दिनमा फुकाउँछन्।भूमे पर्व फुकाउँदा गाउँका मुखिया प्रधानपञ्च कहाँ गएर जुलीधजा धार्नी रक्सीले ढोग गरी अनुमति मागेपश्चात दमाई कहाँ गएर बाँजागाँजा फुकाउने चलन रहेको छ।
भूमे नाच
हरेक बर्षको असार १ गतेका दिन रोल्पा,रुकुम पश्चिम्,पुर्वी रुकुम,लगायतका विभिन्न मगर समुदाय रहेको गाउँ ठाउँमा र यी जिल्लाबाट बसोबास गर्ने मगरहरुले काठमाडौ लगायतका नेपालका अन्य जिल्लाहरुमा बसोबास गर्ने मगर समुदायले पनि भूमे पर्व मान्ने र नाच्ने गर्दछन।विशेषगरी खाम गर्ने मगर समुदायले भूमे नाँचलाई पर्वको रूपमा मनाउँदै आएको पाइन्छ।कालो चोलीमा,रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह,ट्याम्की,छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच।
फूल टिप्न जाने:
भूमे नाच फुकाउनु अगाडि युवा(युवतीको एक भूमे नाच समूह बन्छ,जसको नाम ठाउँ अनुसार फरक हुन्छ।कुनै ठाउँमा नोगोवाङे,कुनै गाउँमा भल्क पसिने समूह।त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी,रक्सी लिएर दिउँसो ४र५ बजेतिर लेक चढ्छन्।नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ। डाँडाको युवा(युवतीको लस्कर मौसम अनुसार बसाइँ सर्ने मालचरिको समूह झै नाच्दै लाग्छ।उकाली काटेपछि ४र५ घण्टामा लेकको नजिक पुग्छन् र त्यहीँ वास बसी रातभरि भूमे नाच,झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन्।३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात बल्ल फूल टिप्न जाने समूह उकाली चढ्छन्।
पूजा गर्नुको अर्थ:
फूल टिप्न जाने समूहले जान वा अन्जाले जुठो पिटो भएमा माफी दिनु,फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु,ढुङ्गामुढाबाट जोगाइदिनु,बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिररपाखामा छरिएर फूल टिप्न लाग्छन्।फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ-आफ्नो पन्थ्यौली घुमाइ नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन्।
फूलको महत्त्व:
नाच्दै गाउँ आउने क्रममा एक जलाकी भेटिन्छ,त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बोकेर घुमाउँछन्। बुढापाकाका अनुसार बोकेर घुमाएपछि बोकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन्।केही तल आएपछि युवतीहरु बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन्।गाउँको नजिक आउँदा फूल माग्नेहरुको लस्कर हुन्छ।उनीहरु रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन्।बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन्।थर्कीमा पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन्।केही चाला नाचे पश्चात फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यस दिन अन्त्य गर्छन्।
असार १ गते:
असारको १ गते भूमे नाच्ने समूह थर्कीमा आएर नाच्दै गर्दा गाउँ नजिकको थानमा पूजा सुरु हुन्छ र सबै भूमे नाच्ने समूह नाच बन्द गरेर पूजा गर्ने ठाउँमा जान्छन्। जब सिर्पाली बिकले साँधे मन्छाउँछ मान्दा बित्तिकै पाती र फूलले हान्छन्।साँधे गाउँको बाटो हुँदै लैजाने क्रममा गाउँका धुइसो,कुलपुजा बेला ढोकामा लगाएको टीका, आफ्नो पितृलाई चढाएको मकै,नाङलोभरि बनाएर तयारी अवस्थामा बसेका गृहणीहरुले बलि दिन लागेको साँधेलाई हान्छन्।जसको अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस् भन्ने हो।यसरी बलि दिने ठाउँमा लखेत्दै पुगाउँछन् र बलि दिन्छन्।
अन्त्य:
भूमि देवतालाई कुनै गाउँमा बोका,कुनै गाउँमा सुंगुर,कुनै गाउँमा भाले बलि दिन्छन्।कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार १ गते बलि दिने चलन छ।यसरी लगातार एक हप्तासम्म भूमे नाच नाचिन्छ र जेठ १ गतेदेखि सुरु भइ असार १ गतेसम्म नाचेर करिब १ महिनाको अवधी सम्म जारी रहेर भूमे नाचको विधिसम्मत अन्त्य गरिन्छ।