काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगाएत कृषकहरुसंगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन् ।
उनले करका कारण स्वदेशी उत्पादनमा नभई आयातित बस्तु मात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे । अर्थमन्त्री महतले करको दर लागू नहुदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यबृद्धि गरेको बताए ।
उनले उत्पादनका आधारमा अनुदान दिने, किसानलाई राहत मिल्ने खालको कार्यक्रम लगायतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखेको ठोकुवा गरे ।