बुटवल । लुम्बिनी प्रदेश सरकारले केही निश्चित सञ्चार माध्यमलाई पहुँचका आधारमा बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक बर्ष ०८०/०८१ को बजेटमा केही सञ्चारमाध्यमका लागि पहुँचका आधारमा डेढ करोड बढि रकम दिन लागिएको छ । यसरी दिन लागिएको रकम सञ्चार उपकरण खरिद, क्षमता अभिबृद्धि र कार्यालय व्यवस्थापनका नाममा दिन लागिएको हो ।
दाङ तुल्सीपुर ५ मा रहेको अग्रिम साप्ताहिकलाई सञ्चार सामाग्री खरिदका लागि १० लाख र उपकरणका लागि १० लाख गरी २० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश टुडे दैनिक दाङ तुलसीपुरलाई क्षमता अभिबृद्धि र सामाग्री खरिदका लागि १० लाख बजेट विनियोजन गरिएको छ । टुडेका सम्पादक मुख्यमन्त्री डिल्ली चौधरीका प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराई हुन् ।
यसैगरी रेडियो मिसनको स्तरउन्नतीका लागि ४ लाख, लाईभ दाङ डटकमका लागि सञ्चार सामाग्री खरिदका लागि ५ लाख, सिंग्नल मिडिया नेटवर्क बुटवल ९ का लागि ५ लाख रुपैयां बजेट विनियोजन भएको छ । लाईभ दाङ अनलाइनका सम्पादक लुम्विनीका अर्थमन्त्री धनवहादुर मास्की राजेशका प्रेस सल्लाहकार हुन् ।
रेडियो जलजलाको सञ्चार सामाग्री र कार्यालय व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन भएको छ । रेडियो सुर्यमुखी रुन्टीगढीका लागि १० लाख बजेट विनियोजन भएको छ । यसैगरी रेडियो बुद्ध आवाज, मायादेवी, बुद्ध आवाज रेडियोका लागि उपकरण खरिदका लागि १० लाख, नेपाल मिडिया नेटवर्कका लागि १० लाख बजेट विनियोजन भएको छ । यसैगरी मानव अधिकार सूचना तथा सञ्चार केन्द्रलाई १० लाख सामुदायिक सञ्चार माध्यम उपकरण खरिदका लागि ५० लाख रुपैयां बजेट विनियोजन भएको छ । यो भन्दा अगाडि लुम्विनीको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी हुँदा पनि उनका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माको निजि साप्ताहिक पत्रिका र छापा कारखानालाई वजेट विनियोजन गरिएको थियो ।