काठमाडौं । कास्की प्रहरीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।
अनुसन्धानका लागि ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले मंसिर २ गते जारी गरेको पक्राउ पुर्जीको आधारमा पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा उनको बयान लिइनेछ ।
उनलाई यसअघि सुप्रिम सहकारीको बचत रकम अपचलनबारे बयानका लागि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो । काठमाडौंमा बयान सकिएपछि उनलाई फेरि कास्की नै लगिने छ । लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएकाले त्यसपछि उनलाई बयानका लागि चितवन लगिने छ ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।