काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रवि लामिछानेको बयान सुरू भएको छ ।
कास्की प्रहरीको हिरासतबाट बिहीबार काठमाडौं ल्याइएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजबाट बयान सुरू भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा लामिछाने प्रहरी नियन्त्रणमा छन् ।
सरकारी वकीलको कार्यालयमा सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतले बयान लिनेछन् । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
कास्की जिल्ला अदालतले गत आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकील कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।