अस्ट्रेलिया l एलिजा थापाले आफ्नी छोरी एलिना बोहराको १०औँ जन्मदिनका अवसरमा व्यक्त गरेको भावुक सन्देश यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ ।
उक्त सन्देशमार्फत उनले छोरीप्रतिको अथाह माया, गर्व र मातृत्वको गहिरो अनुभूति अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेकी छन् । थापाका अनुसार, प्रत्येक रात सुत्नुअघि छोरीसँग हुने साना-साना संवादहरू उनका लागि जीवनकै सबैभन्दा अमूल्य क्षण हुन् । “तिमी आफ्ना साना कथाहरू, विद्यालयका अनुभव, खुसी र दुःख सबै मसँग बाँड्छ्यौ ।
कहिलेकाहीँ म तिमीलाई सुत्न हतार गराउँछु, तर ती क्षणहरू म मनभित्र गहिरो रूपमा संजोइरहेकी हुन्छु,” उनले उल्लेख गरेकी छन् । उनले ती संवादहरूले आफू छोरीको ‘सुरक्षित स्थान’ भएको अनुभूति दिलाउने बताएकी छन् । “यो अव्यवस्थित संसारमा पनि तिमी मसँग फर्केर आउँछ्यौ र आफ्ना सबै भावना खुलस्त राख्छ्यौ ।
त्यसले मलाई लाग्छ—सायद मैले केही सही गरिरहेकी छु,” उनले लेखेकी छन् । उनको जन्मघर र कर्मघर गुल्मी भएतापनि हाल उनी विगत डेढ दशकदेखि आफ्ना पति दीपक बोहरा र छोरीसँग अस्ट्रेलियामा बसोबास गर्दै आएकी छन् ।
आफ्नो पेशागत जीवनका क्रममा विभिन्न आमाहरूका संघर्ष र अनुभवहरू नजिकबाट देखेको उल्लेख गर्दै थापाले मातृत्वसँगै आउने आत्मग्लानि र ‘पर्याप्त नगरेको’ अनुभूतिबारे पनि खुलेर व्यक्त गरेकी छन् । तर छोरीकै माध्यमबाट उनले एउटा महत्वपूर्ण सत्य बुझेकी छन् । हरेक बच्चा फरक हुन्छ, हरेक यात्रा फरक हुन्छ र सम्भवतः सबै आमाहरू आफ्ना ठाउँमा आफ्नो सर्वोत्तम प्रयास गरिरहेका हुन्छन् ।
सन्देशमा उनले छोरी एलिनाको संवेदनशीलता, समझदारी र बुद्धिमत्ताको पनि खुलेर प्रशंसा गरेकी छन् । “तिमी यति सानै उमेरमा यति गहिरो रूपमा कुरा बुझ्छ्यौ कि म आफैं अचम्म मान्छु ।
तिमी अत्यन्त बुद्धिमान् छ्यौ, तर तिम्रो मुटु झन् सुन्दर छ,” उनले लेखेकी छन् । छोरी क्रमशः स्वतन्त्र बन्दै गएको देख्दा आफूलाई मिठो पीडा महसुस हुने बताउँदै उनले अन्त्यमा सन्देश दिएकी छन्, “जीवनले जहाँ पुर्याओस्, सधैं यो अनुभूति साथमा लिएर जाऊ-तिमी गहिरो रूपमा माया गरिएकी छ्यौ, सधैं सुरक्षित छ्यौ ।”
उक्त सन्देशले मातृत्वको यथार्थ र आमाछोरीबीचको न्यानो सम्बन्धलाई जीवन्त रूपमा उजागर गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।