काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटको अन्तरालमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार वर्षमा ३६५ दिन हुन्छन्, जसमा सौर र चान्द्रमास पर्दछन् । यी दुवै मासबीच समन्वय कायम गर्नका लागि निश्चित समयको अन्तरालमा मलमास वा अधिकमास आउने गर्दछ । ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलका अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै पनि सङ्क्रान्ति पर्दैन भने शास्त्रीय ग्रन्थहरूका आधारमा त्यस महिनालाई मलमास वा अधिकमास भनिन्छ ।
मलमास र क्षयमासको शास्त्रीय परिभाषा
ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो प्रसिद्ध ग्रन्थ ‘सिद्धान्त शिरोमणि’ मा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिँदै लेख्नुभएको छ:
असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
यसको अर्थ सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो भने एउटै चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ । क्षयमास एकदमै विरलै हुने गर्दछ, जुन यसअघि वि.सं. २०२० सालमा परेको थियो । क्षयमास विशेषगरी कार्तिक, मङ्सिर र पुस महिनामा पर्ने गर्दछ, जसमा पनि मङ्सिर र पुसमा यसको सम्भावना बढी हुन्छ । कार्तिक महिनामा क्षय र अधिकमास दुवै पर्न सक्ने सम्भावना रहन्छ भने माघ महिनामा यी दुवै पर्दैनन् । बाँकी रहेका अन्य आठ महिनामा भने अधिकमास पर्न सक्छ ।
'संसर्प', 'अंहस्पति' र पुरुषोत्तममासको पौराणिक प्रसङ्ग
क्षयमास हुने वर्षमा नियमपूर्वक दुई वटा अधिकमास समेत पर्ने गर्दछन् । यी अधिकमासहरू क्षयमास भन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । पौराणिक मान्यता अनुसार हरेक महिनाको छुट्टाछुट्टै देवता हुने भए पनि मलमासको कोही देवता थिएनन् । आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो लिएर मलमास रुँदै भगवान् श्रीकृष्णकहाँ पुगेका थिए । 'पुरुषोत्तममास माहात्म्य' नामक धर्मग्रन्थका अनुसार, मलमासको गुनासो सुनेर भगवान् श्रीकृष्णले "अब तिमीलाई मेरै नामबाट सबैले चिन्नेछन्" भनी यसलाई 'पुरुषोत्तममास' को नाम दिनुभएको थियो ।
मलमासमा के गर्ने र के नगर्ने?
धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार मलमासको अवधिमा नित्य कर्महरू जस्तै पूजा, पाठ, जप र ध्यान गर्न मिल्छ । पहिलेदेखि नै बस्दै आएको व्रतलाई नियमितता दिन मिल्ने भए पनि यस अवधिमा कुनै पनि नयाँ व्रतको सुरुआत भने गर्नु हुँदैन । मलमासमा महादान, विवाह, व्रतबन्ध, गृहनिर्माण तथा गृहप्रवेश जस्ता माङ्गलिक कार्यहरू वर्जित मानिएका छन् । यसैगरी, यो समयमा गर्भाधान गर्नु नहुने शास्त्रीय नियम छ, तर पहिले नै गर्भ रहेको अवस्थामा भने कुनै दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमास छल्नुपर्छ भन्ने सामाजिक परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको हो । संक्षेपमा, बृहस्पति र शुक्र अस्त भएका बेला निषेध गरिएका सम्पूर्ण कर्महरू मलमासमा पनि गर्नु हुँदैन ।