काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन माइती तथा दाजुभाइले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराअनुसार आज बर्तालुले भोलि बस्ने निराहार व्रतका लागि शक्ति सञ्चय गर्दैछन्।
तीजको पहिलो दिन विशेषगरी दूधबाट बनेका परिकार, घिउ, रोटी तथा अन्य आडिला खाद्य पदार्थ दरका रूपमा खाने चलन छ। धर्मशास्त्रीय मान्यताअनुसार दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने उल्लेख छ। दर खाएपछि भाद्र शुक्ल तृतीयाका दिन महिलाले हरितालिका व्रत बस्नेछन्।
तीज केवल धार्मिक व्रत र पूजाको पर्व मात्र नभई महिलाले वर्षभरिका सुख–दुःख, पीडा र सामाजिक अनुभव अभिव्यक्त गर्ने अवसरका रूपमा समेत स्थापित छ। तीजका गीत तथा सांस्कृतिक गतिविधिमार्फत महिलाले जन्मघरबाट कर्मघरमा पुगेपछि भोगेका अनुभव सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ। माइती–चेलीको भेटघाट र पुराना साथीभाइ तथा इष्टमित्रसँगको पुनर्मिलनले पनि तीजलाई विशेष बनाउने गरेको छ।
तर पछिल्ला वर्षमा तीजको मौलिक संस्कृतिमाथि तडकभडक हाबी हुँदै गएको भन्दै संस्कृतिविद्, धर्मशास्त्री तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। तीज आउनुभन्दा महिनौँअघि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र भड्किलो कार्यक्रम गर्ने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाउँदै लगेको उनीहरूको भनाइ छ।
विशेषगरी व्रतको अघिल्लो दिन शक्ति सञ्चयका लागि खाने दरलाई महिनौँअघिदेखि नै भोज तथा मनोरञ्जनको माध्यम बनाउने प्रवृत्तिले तीजको धार्मिक तथा सांस्कृतिक पक्ष ओझेलमा पारिरहेको बताइएको छ। यस्ता गतिविधिले आर्थिक अवस्था कमजोर भएका परिवार तथा महिलामा मानसिक दबाब र हीनताको भावना सिर्जना गर्न सक्ने भएकाले तीजलाई प्रतिस्पर्धा र प्रदर्शनको पर्वभन्दा आत्मीयता तथा संस्कृतिको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ।
सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा समेत लामो समयअघि नै तीजका नाममा तामझामपूर्ण कार्यक्रम आयोजना गर्ने प्रवृत्ति बढेको भन्दै आलोचना हुँदै आएको छ। संस्कृतिको संरक्षण र सामाजिक अनुशासन कायम गर्ने जिम्मेवारी बोकेका सार्वजनिक संस्थाले नै भड्किलो संस्कृतिलाई प्रोत्साहन गर्नु उचित नहुने धर्मशास्त्रविद्हरूको धारणा छ।
धर्मशास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल द्वितीयाको साँझ दर खाएपछि सुरु हुने तीज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीसम्म चार दिन मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत तथा पूजा, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समापन हुन्छ।
तीजको धार्मिक पौराणिकता भने सत्ययुगसँग जोडिएको छ। पुराणमा वर्णित कथाअनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएका थिए। त्यहीँ पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको विश्वासका आधारमा हरितालिका तीजको परम्परा सुरु भएको धार्मिक मान्यता छ।
तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्दछ। पछिल्लो समय नेपालमा सीमित रहेको तीजको सांस्कृतिक प्रभाव भारतलगायत अन्य क्षेत्रमा समेत विस्तार हुँदै गएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीजका गीत तथा सांस्कृतिक गतिविधिले व्यापकता पाएका छन्।
दर खाएर सुरु भएको तीजले नेपाली समाजमा चेली–माइतीको सम्बन्ध, धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र महिलाको अभिव्यक्तिलाई जोड्दै आएको छ। बदलिँदो समयसँगै पर्व मनाउने शैलीमा परिवर्तन आए पनि तीजको मौलिकता, आत्मीयता र सांस्कृतिक गरिमा जोगाउँदै अनावश्यक तडकभडक र प्रतिस्पर्धाबाट मुक्त बनाउनु आवश्यक देखिएको छ।