Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘रोक्का मात्रै गरौँ’ भनेको जग्गा पास भयो ! कागजमा ५ लाख, हातमा २ लाख-६६ वर्षीया तारामान को न्यायको पुकार


१८, भदौ २०८३
  • 96
    SHARES
  • ‘रोक्का मात्रै गरौँ’ भनेको जग्गा पास भयो ! कागजमा ५ लाख, हातमा २ लाख-६६ वर्षीया तारामान को न्यायको पुकार

    बिरामी अवस्थामा जग्गा रोक्का गर्न दिएको दाबी, पछि शिवहरि कार्कीको नाममा पास भएको आरोप; दिनेश कार्कीबाट धम्कीसमेत आएको ताराको भनाइ-‘मेरो जग्गा फिर्ता चाहियो, सत्य छानबिन होस्’

    काठमाडौं । ६६ वर्षीया तारा मानन्धर अहिले काठमाडौंको नयाँ बजारमा फुपूले दिएको एउटा कोठामा बस्छिन्। श्रीमान् श्यामलाल मानन्धरले अर्को विवाह गरेपछि आफूले दुःख भोग्दै आएको बताउने उनी अहिले आफ्नो जीवनको बाँकी सहारा बनेको जग्गा गुमेको दाबी गर्दै न्यायको खोजीमा छिन्।

    मकवानपुरको तत्कालीन हरिया गाविस–५ मा रहेको दुई कठ्ठा जग्गा कसरी आफ्नो हातबाट गयो भन्ने प्रश्नले उनलाई वर्षौंदेखि पिरोलिरहेको छ। मानन्धरका अनुसार उनी बिरामी भएर अपरेसन गर्नुपर्ने अवस्थामा थिइन्। उपचारका लागि पैसा आवश्यक भएपछि आफूले दुई लाख रुपैयाँभन्दा केही बढी रकम लिन चाहेको बताएकी थिइन्।

    “रोक्का मात्रै गर भनेर भनेको हो। पैसा चाहिएको थियो। पछि थाहा पाउँदा त जग्गा पासै गरेर खाइसकेछन्,” उनी भन्छिन्। उनको दाबीअनुसार आफूले दिनेश कार्कीलाई विश्वास गरेर जग्गासम्बन्धी काम गर्न दिएकी थिइन्। तर पछि उक्त जग्गा शिवहरि कार्कीको नाममा पास भएको उनले थाहा पाइन्।

    ww.jpeg

    ‘पाँच लाख लेखेछन्, मैले दुई लाख मात्रै पाएँ’

    मानन्धरको सबैभन्दा ठूलो प्रश्न रकमको हो। उनका अनुसार कागजमा पाँच लाख रुपैयाँ लेखिएको भए पनि आफूले वास्तवमा ५० हजार, एक लाख र पुनः ५० हजार गरी करिब दुई लाख रुपैयाँ मात्रै पाएकी थिइन्। “पैसा पाँच लाख लेखेछन्, त्यो पनि मैले त्यतिबेला थाहा पाइनँ। मैले पाएको जम्मा दुई लाखजति हो,” उनी भन्छिन्।

    यही दाबीले कारोबारको मूल प्रश्न उठाएको छ - यदि पाँच लाख रुपैयाँ दिइएको हो भने त्यसको प्रमाण कहाँ छ ?

    यदि दुई लाख मात्रै दिइएको हो भने पाँच लाखको लिखत किन बन्यो ? र, ऋणका लागि गरिएको भनिएको कारोबार अन्ततः जग्गा हस्तान्तरणमा कसरी पुग्यो ?
    यी प्रश्नको उत्तर अब मूल लिखत, मालपोत अभिलेख, वारेसनामा, बैंकिङ कारोबार तथा सम्बन्धित पक्षको बयानबाट खोजिनुपर्ने देखिन्छ।

    WhatsApp Image 2026-09-03 at 2.15.19 PM.jpeg

    ‘बिरामी थिएँ, त्यही बेला फाइदा उठाइयो’

    मानन्धरले आफू बिरामी र कमजोर अवस्थामा रहेको समयमा कागजात तयार भएको तथा त्यसको वास्तविक कानुनी परिणाम आफूलाई थाहा नभएको दाबी गरेकी छन्। यदि उनको दाबी सही हो भने कारोबारका क्रममा उपस्थित व्यक्ति, साक्षी, लिखत तयार गर्ने व्यक्ति तथा सम्बन्धित कार्यालयका अभिलेखसमेत अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ। किनकि कुनै नागरिकले के बुझेर कागजमा हस्ताक्षर गर्‍यो र वास्तविक रूपमा कति रकम प्राप्त गर्‍यो भन्ने कुरा सम्पत्ति कारोबारको अत्यन्त महत्वपूर्ण पक्ष हो।

    ‘दिनेश कार्कीले धम्की दिए’

    मानन्धरले आफ्नो जग्गा र रकमबारे प्रश्न उठाएपछि आफूलाई मोबाइलमार्फत गालीगलौज तथा काट्ने-मार्ने किसिमको धम्कीसमेत आएको आरोप लगाएकी छन्। “दिनेश कार्कीले मोबाइलमा जथाभावी मुख छाड्यो, काट्ने-मार्ने धम्की दियो,” उनी भन्छिन्। यो आरोपको सत्यता भने सम्बन्धित फोन अभिलेख, सन्देश, सम्भावित रेकर्डिङ तथा अन्य प्रमाणबाट अनुसन्धान हुनुपर्ने हुन्छ।

    ‘मलाई मेरो नामको जग्गा  चाहियो,त्यही गएर छाप्रो बनाएर बस्छु "

    मानन्धर आफूले वास्तविक रूपमा लिएको रकम कानुनी प्रक्रिया पूरा गरेर फिर्ता गर्न तयार रहेको बताउँछिन्। तर उनको माग स्पष्ट छ-आफ्नो दुई कठ्ठा जग्गा फिर्ता होस्। “मैले लिएको पैसा फिर्ता गर्छु। मलाई मेरो जग्गा चाहियो। त्यहीँ गएर बस्ने हो। छाप्रो बनाएर बस्ने हो,” उनी भन्छिन्। अहिलेसम्म आफू कुनै प्रहरी, प्रशासन, मालपोत वा अदालतमा औपचारिक रूपमा नगएको पनि उनले बताएकी छन्।

    WhatsApp Image 2026-09-03 at 2.15.18 PM.jpeg

    अब राज्यले खोज्नुपर्ने प्रश्न

    तारा मानन्धरको दाबी सही हो वा होइन भन्ने निष्कर्ष अहिले नै निकाल्न मिल्दैन। तर उनको आरोप गम्भीर भएकाले सम्बन्धित निकायले कम्तीमा यी प्रश्नको जवाफ खोज्नैपर्छ-
    पाँच लाख रुपैयाँको वास्तविक कारोबार भएको थियो कि थिएन ?
    तारा मानन्धरले दाबी गरेजस्तै करिब दुई लाख मात्रै पाएकी हुन् कि होइनन् ?
    बिरामी अवस्थामा तयार भएको भनिएको लिखतको वास्तविक व्यहोरा के थियो ?
    ‘रोक्का मात्रै’ भनिएको जग्गा कुन प्रक्रियाबाट पास भयो ?
    दिनेश कार्कीबाट शिवहरि कार्कीको नाममा जग्गा हस्तान्तरणको कानुनी आधार के थियो ? हाल जग्गा कसको नाममा छ ? धम्की दिएको आरोपको सत्यता के हो ?

    आरोपको छानबिनसँगै अर्को पक्षको जवाफ पनि आवश्यक

    मानन्धरले दिनेश कार्की र शिवहरि कार्कीमाथि गम्भीर आरोप लगाएकी छन्। यी आरोप प्रमाणित तथ्य नभई पीडितको दाबी हुन्। त्यसैले उनीहरूलाई पनि आफ्नो पक्ष राख्ने पूर्ण अवसर दिनु आवश्यक छ।  पाँच लाख रुपैयाँको कारोबार, लिखत, जग्गा हस्तान्तरण र सम्पूर्ण प्रक्रियाबारे उनीहरूको जवाफ सार्वजनिक हुनुपर्छ। तर आरोपको खण्डन वा समर्थनभन्दा पनि महत्वपूर्ण कुरा अब मूल कागजात र प्रमाणको निष्पक्ष परीक्षण हो।

    ‘यो उमेरमा मलाई झुट बोल्नु छैन’

    तारा मानन्धरको अन्तिम आग्रह भावनात्मकभन्दा बढी न्यायिक छ। “मेरो कुरा मात्रै पत्याउनुपर्दैन। सत्य छानबिन गरिदिनुस्। मैले पाँच लाख पाएँ भने प्रमाण देखियोस्, दुई लाख मात्रै पाएँ भने त्यो पनि प्रमाणबाट देखियोस्। मलाई मेरो जग्गा चाहियो,” उनी भन्छिन्।

    अन्त्यमा उनी थप्छिन्- “मेरो कुरा सत्य हो। भगवानको कसम, मैले झुट बोलेको होइन। यो उमेरमा मलाई झुट बोल्नु छैन।” ६६ वर्षीया ताराको यो आवाजलाई केवल एउटा निजी जग्गा विवादका रूपमा बेवास्ता गर्ने कि मूल कागजात झिकाएर निष्पक्ष छानबिन गर्ने, अब जिम्मेवार निकायको परीक्षा यही हो।

    यदि उनको आरोप गलत हो भने प्रमाणले गलत देखाओस्। यदि उनीमाथि अन्याय भएको हो भने उनको हक स्थापित होस् र यदि धम्की दिइएको हो भने त्यसको पनि कानुनी छानबिन होस्।

    ताराको प्रश्न एउटा व्यक्तिको मात्रै होइन-कमजोर नागरिकले आफ्नो सम्पत्तिको न्याय माग्दा राज्यका निकाय कति संवेदनशील र जवाफदेही छन् भन्ने प्रश्न पनि हो। अब फैसला आरोपले होइन, प्रमाणले गर्नुपर्छ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend