काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि तनाव उत्पन्न भएको छ।
प्रसाईँ आफ्ना सहयोगीसहित काठमाडौं फर्किँदा विमानस्थलमा उनका समर्थक तथा युट्युबरहरू उनको प्रतीक्षामा थिए। प्रहरीले विमानस्थल परिसरमा ‘बाइट’ दिन रोक लगाएपछि प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध आक्रोश व्यक्त गर्दै समर्थकहरूसहित विमानस्थलबाट बाहिरिएका थिए।
त्यसक्रममा प्रसाईँले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङलाई लक्षित गर्दै आपत्तिजनक तथा उत्तेजक अभिव्यक्ति दिएका थिए। उनले संसद् भवन र सिंहदरबारमा भएको तोडफोड तथा आगजनीका घटनाका बेला प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाए।
विमानस्थलबाट बाहिरिने क्रममा प्रसाईँका समर्थक र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। सो क्रममा नागरिक बचाउ महाअभियानका बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
घटनाप्रति नागरिक बचाउ महाअभियानका नेता माधव खतिवडाले आपत्ति जनाउँदै एक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गरेको आरोप लगाए। उनले प्रसाईँलाई रोक्ने प्रहरीको व्यवहारलाई दमनकारी भएको टिप्पणी गरेका छन्।
यता, काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले भने दुर्गा प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन्। उनका अनुसार प्रसाईँलाई विमानस्थलबाट सुरक्षित रूपमा घर पठाइएको हो।
विमानस्थलमा सार्वजनिक अभिव्यक्ति दिन रोक लगाएपछि उत्पन्न भएको विवादले प्रसाईँ र प्रहरीबीचको तनाव पुनः सतहमा ल्याएको छ।