काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवर्द्धन पूजा, बली पूजा, गोरु पूजा तथा हलि पूजा गरी मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका अवसरमा घरआँगनमा गोबरबाट गोवर्द्धन पर्वत बनाई पूजा गर्ने र गोरु तथा कृषि कर्ममा संलग्न किसानलाई सम्मान गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने चलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
यस दिन भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासका आधारमा बली राजाको पनि पूजा गरिन्छ। यही परम्परासँग जोडिएर देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने चलन रहेको छ।
वर्षभरि खेतबारी जोतेर मानव जीवनलाई सहज बनाउने गोरुलाई मीठा परिकार खुवाएर पूजा गर्ने गरिन्छ। त्यसैगरी खेतीपातीमा योगदान पुर्याउने हलि तथा किसानलाई सम्मान गर्ने परम्परा पनि छ। यही कारण आजको दिनलाई हलि तिहारसमेत भनिन्छ।
गोवर्द्धन पूजाले प्रकृति, कृषि र पशुपालनको महत्त्व स्मरण गराउनुका साथै मानव जीवनमा योगदान पुर्याउने श्रम र श्रमिकप्रतिको सम्मानलाई पनि उजागर गर्दछ।