काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र न्यायिक प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।
पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) समेत रहेका गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोबिन्द पन्थीले अनुसन्धानको संवेदनशील सामग्री सार्वजनिक हुनु सामान्य विषय नभएको भन्दै यसको गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।
मिसन लुम्बिनी डटकमसँगको विशेष कुराकानीमा अपराध अनुसन्धानमा लामो अनुभव हासिल गरेका पन्थीले अनुसन्धानको गोपनीयता नै प्रमाण संरक्षण र निष्पक्ष न्यायको प्रमुख आधार भएको उल्लेख गरे। उनका अनुसार अनुसन्धानकै क्रममा अभियुक्तको बयान सार्वजनिक हुँदा वास्तविक तथ्यसम्म पुग्ने प्रयास प्रभावित हुन सक्छ।
“हिरासतमा रहेका अभियुक्तको बयान नै यसरी सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो।
अभियुक्तबाट प्राप्त सूचनाको थप सत्यतथ्य र निष्पक्ष अनुसन्धान कसरी सुनिश्चित हुन्छ? अनुसन्धानको दायरा जरैसम्म पुग्न सक्ला? बयानमा उल्लेख भएका वा घटनासँग जोडिएका पात्रहरूले अब प्रमाण बाँकी राख्लान्? प्रमाण नष्ट गर्ने, मिलाउने वा अनुसन्धानलाई प्रभावित पार्ने सम्भावनालाई कसरी रोक्ने?” पन्थीले प्रश्न गरे।
उनले अनुसन्धानको अत्यन्त संवेदनशील सामग्री सार्वजनिक हुनु सामान्य लापरबाही हो वा कसैको स्वार्थ र इसारामा अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले गरिएको सुनियोजित चुहावट हो भन्ने विषयमा समेत गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।
‘बयान चुहावटको स्रोत र उद्देश्य पनि अनुसन्धानको दायरामा आउनुपर्छ’
पन्थीले बयान सार्वजनिक कसरी भयो, कसले सार्वजनिक गर्यो र त्यसबाट अनुसन्धानमा कस्तो असर पर्न सक्छ भन्ने विषयमा छुट्टै छानबिन हुनुपर्नेमा जोड दिए।
अनुसन्धानको गोपनीयता भंग गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गर्ने जोसुकैलाई कानुनी जवाफदेहिताको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।
अपराध अनुसन्धानको अनुभवका आधारमा उनले अभियुक्तको बयानलाई नै अन्तिम सत्य मानेर निष्कर्षमा पुग्न नहुने स्पष्ट पारे। बयान अनुसन्धानको एउटा महत्त्वपूर्ण आधार भए पनि त्यसको पुष्टि स्वतन्त्र प्रमाण, तथ्य र अन्य सम्बन्धित पक्षमाथिको निष्पक्ष अनुसन्धानबाट हुनुपर्ने उनले बताए।
उनका अनुसार बयान सार्वजनिक भएपछि घटनासँग सम्बन्धित अन्य व्यक्ति सतर्क हुन सक्ने, प्रमाण नष्ट गर्ने वा मिलाउने प्रयास हुन सक्ने तथा साक्षी र अनुसन्धान प्रक्रियामै प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने जोखिम रहन्छ।
‘अनुसन्धानको उद्देश्य कसैलाई जोगाउनु वा फसाउनु होइन’
पन्थीले न्यायको मूल उद्देश्य कुनै व्यक्तिलाई जोगाउनु वा फसाउनु नभई घटनाको वास्तविक सत्यतथ्य पत्ता लगाउनु भएको बताए। त्यसका लागि अनुसन्धानलाई प्रचार, दबाब, राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थबाट पूर्णतः मुक्त राख्नुपर्ने उनको धारणा छ।
“न्यायको उद्देश्य कसैलाई जोगाउनु वा फसाउनु होइन, सत्यको जरासम्म पुग्नु हो। त्यसका लागि अनुसन्धानको गोपनीयता, प्रमाणको सुरक्षा र निष्पक्षता कुनै पनि हालतमा कमजोर हुनु हुँदैन,” उनले भने।
उनले सम्बन्धित अनुसन्धान निकायलाई प्रमाणको सुरक्षा, अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्दै घटनाको जरासम्म पुग्न आग्रह गरेका छन्।
पन्थीको जोड छ-अनुसन्धान कमजोर भयो भने प्रमाण प्रभावित हुन्छ, प्रमाण प्रभावित भयो भने न्यायको बाटो कमजोर हुन्छ। त्यसैले अनुसन्धानको गोपनीयता नै प्रमाण र न्यायको सबैभन्दा बलियो सुरक्षाकवच हो।