काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य उल्लेख्य रूपमा बढेको छ । चाडपर्वलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा काजु, बदाम, किसमिस, पिस्तालगायतका ड्राइफ्रुट्स महँगिएका हुन् ।
गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ताको मूल्य अहिले बढेर ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । अन्य अधिकांश ड्राइफ्रुट्सको मूल्यसमेत गत वर्षको तुलनामा बढेको व्यवसायीले बताएका छन् ।
कालिमाटीमा १५ वर्षदेखि ड्राइफ्रुट्सको कारोबार गर्दै आएका व्यापारी अनुराग चौधरीका अनुसार वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही वस्तुको मूल्यमा भने त्योभन्दा बढी वृद्धि देखिएको छ ।
चौधरीले गत भदौमा रसुवामा आएको विनाशकारी बाढी, दसैँका कारण भन्सार कार्यालय बन्द हुनु र त्यसलगत्तै तिहारको माग बढ्नुले बजारमा आपूर्ति प्रभावित भएको बताए ।
दसैँका बेला करिब एक साता भन्सार कार्यालय बन्द हुँदा आयात रोकिएको र कार्यालय खुलेलगत्तै तिहारका लागि माग बढेकाले पर्याप्त मात्रामा सामान बजारमा आउन नसकेको उनको भनाइ छ ।
‘पहिलाको तुलनामा मूल्य सोध्नुहुन्छ भने महँगै छ । ड्राइफ्रुट्स सबै महँगो छ । दसैँले गर्दा एक हप्ता भन्सार कार्यालय बन्द भयो । त्यसपछि खुल्नेबित्तिकै तिहार लाग्यो । सामान ढिलो आइपुग्यो । त्यसले गर्दा पनि मूल्य महँगिएको हो,’ चौधरीले भने ।
उनका अनुसार सबैभन्दा बढी मूल्य पिस्तामा बढेको छ । तिहारमा दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर भाइ मसला दिने परम्परा रहेकाले यस समयमा ड्राइफ्रुट्सको माग स्वाभाविक रूपमा बढ्ने गर्छ ।
चाडपर्वको मुखमा माग बढ्नु र आयात तथा आपूर्तिमा अवरोध देखिनुले यस वर्ष उपभोक्ताले भाइ मसला खरिद गर्दा गत वर्षभन्दा बढी रकम खर्चिनुपर्ने अवस्था बनेको छ ।