Logo

Nov 04 2026 | २०८३, कात्तिक १९गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि प्रहरी नेतृत्वसम्म : डा. मनोज केसीको यात्रा


१९, कात्तिक २०८३
  • 59
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणदेखि प्रहरी नेतृत्वसम्म : डा. मनोज केसीको यात्रा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट राष्ट्रिय चर्चामा आएका डा. मनोज केसी नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) बनेका छन्। बुधबार (कात्तिक १८) बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो।

    अपराध अनुसन्धानमा विशेष दक्षता र जटिल प्रकृतिका ठगी तथा संगठित अपराधका घटनाको अनुसन्धानमा अनुभव हासिल गरेका केसीले अब नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन्। सरकारले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ जिम्मेवारी दिएको हो।

    केसी प्रहरी संगठनभित्र अनुसन्धानमा अब्बल अधिकृतका रूपमा परिचित छन्। विशेषगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि उनको चर्चा देशव्यापी बनेको थियो।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले उक्त प्रकरणमा संलग्न गिरोहविरुद्धको अनुसन्धानलाई अगाडि बढाएका थिए। घटनामा तत्कालीन मन्त्री, सचिव र उच्चपदस्थ व्यक्तिहरूको नामसमेत जोडिएपछि यो प्रकरण राष्ट्रिय राजनीतिमा निकै चर्चित बनेको थियो। प्रभावशाली व्यक्तिहरू संलग्न ठगी प्रकरणको अनुसन्धानमा देखाएको सक्रियताले केसीलाई फरक पहिचान दिलायो।

    तर उनको अनुसन्धान यात्रा यही प्रकरणमा मात्र सीमित छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा उनले विभिन्न जटिल आर्थिक तथा संगठित अपराधको अनुसन्धानमा नेतृत्व गरेका थिए। पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धार (फेक रेस्क्यु) ठगी, स्मार्ट टेलिकमको आर्थिक अनियमितता, धितोपत्र तथा बिमा क्षेत्रसँग सम्बन्धित ठगी, क्रिप्टोकरेन्सी कारोबार र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धानमा उनको संलग्नता रहेको छ।

    प्रहरी सेवामा प्रवेश गर्नुअघि भने केसीको सपना प्रहरी अधिकृत बन्ने थिएन। २०३२ साउन २८ गते नुवाकोटको तुप्चेमा जन्मिएका उनले काठमाडौंको सिद्धार्थ बनस्थली विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि अमृत साइन्स क्याम्पसमा भौतिक विज्ञान अध्ययन गरेका थिए। उनको रुचि हवाई क्षेत्र र एरोनोटिकल इन्जिनियरिङमा थियो। उनले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को तालिमसमेत लिएका थिए।

    एटीसी क्षेत्रमा करियर बनाउने सोचमा रहेका केसीको जीवनले नेपाल प्रहरीले प्रहरी निरीक्षक पदमा भर्ना खुलाएको सूचना देखेपछि नयाँ मोड लियो। परीक्षा दिएर सफल भएका उनी २०५४ चैत २८ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरे।

    त्यसपछि विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनभित्र आफ्नो व्यावसायिक पहिचान बनाएका उनले जिल्ला प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सीआईबी, विशेष ब्युरो, प्रहरी एकेडेमी र अपराध अनुसन्धान विभागमा काम गरिसकेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत सुरक्षा अधिकृतका रूपमा काम गरेको अनुभव उनीसँग छ।

    अनुसन्धानसँगै शैक्षिक तथा संस्थागत विकासमा पनि केसीको योगदान रहेको छ। उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट व्यवहारिक द्वन्द्व रूपान्तरणमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा समेत स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

    नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन गरिएको स्टाफ कलेजका संस्थापक निर्देशक रहेका केसीले प्रहरी एकेडेमीमा रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि योगदान दिएका थिए। प्रहरी सेवासम्बन्धी दुई पुस्तकसमेत लेखेका उनी फ्रान्सेली र स्पेनी भाषामा दख्खल राख्छन्।

    तेस्रो वरीयताबाट सर्वोच्च नेतृत्वसम्म

    केसी र निवर्तमान आईजीपी दानबहादुर कार्की एउटै ब्याचका प्रहरी अधिकृत हुन्। दुवै २०५४ चैत २८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। एआईजीमा बढुवा हुँदा केसी वरीयताक्रमको तेस्रो स्थानमा थिए। पहिलो नम्बरमा दानबहादुर कार्की र दोस्रो नम्बरमा राजन अधिकारी थिए।

    सरकारले पहिलो र दोस्रो वरीयताका अधिकारीलाई पछि पार्दै केसीलाई आईजीपी नियुक्त गरेको छ। यससँगै उनले प्रहरी सेवामा प्रवेश गरेको झन्डै २९ वर्षपछि संगठनको सर्वोच्च नेतृत्वमा पुग्ने अवसर पाएका छन्।

    उनको बढुवाक्रमअनुसार २०६६ मंसिर २६ गते डीएसपी, २०७४ साउन १९ गते एसपी, २०७९ साउन ३ गते एसएसपी, २०८१ जेठ १३ गते डीआईजी र २०८२ वैशाख ११ गते एआईजीमा बढुवा भएका थिए। कात्तिक १८ गते आईजीपी नियुक्त भएसँगै उनको प्रहरी करियरले नयाँ उचाइ लिएको छ।

    अपराध अनुसन्धानमा अनुभव, जटिल ठगी प्रकरणमा सक्रियता, शैक्षिक योग्यता र अन्तर्राष्ट्रिय अनुभवसहित प्रहरी संगठनको नेतृत्वमा पुगेका केसीका अगाडि अब चुनौतीको चाङ छ। प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने, अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने, प्रहरीभित्रको संस्थागत सुशासन बलियो बनाउने र नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउने जिम्मेवारी उनको काँधमा आएको छ।

    चर्चित अपराध अनुसन्धानबाट पहिचान बनाएका केसीले अब प्रहरी संगठनको नेतृत्वमा कस्तो कार्यसम्पादन गर्छन् भन्ने चासो बढेको छ।

  • ६८ हजार युवालाई निःशुल्क एआई तालिम, आवेदन दिएका सबैलाई सहभागी गराइने

    काठमाडौं । सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रम्प्ट इन्जिनियरिङ तालिममा आवेदन

  • तिहारमा भाइ मसला महँगियो : पिस्ताको मूल्य प्रतिकिलो ३ हजार ६०० रुपैयाँसम्म

    काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य उल्लेख्य रूपमा

  • भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणको तयारी र त्यसका एजेन्डा तय

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend