काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।
उनले भाइटीकासँग जोडिएको यमराज र यमुनाको पौराणिक प्रसङ्ग स्मरण गर्दै यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गरेका छन् । धार्मिक विश्वासअनुसार यस दिन दिदीबहिनीबाट विधिपूर्वक टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइले दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त गर्ने मान्यता रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै दूबो, मखमली तथा सयपत्रीको माला र सप्तरङ्गी टीका लगाइदिने परम्पराको चर्चा गरेका छन् । ओखर फुटाउने, तेलको घेरा लगाउने तथा मिष्ठान्न परिकार खुवाउने चलनले पनि यस पर्वलाई विशेष बनाएको उनको सन्देशमा उल्लेख छ ।
त्यस्तै, दाजुभाइले दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई थप आत्मीय बनाउने उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले भाइटीकाले सबैमा सकारात्मक भावना, आपसी सम्मान र सामाजिक सद्भाव अभिवृद्धि गरोस् भन्ने कामनासमेत गरेका छन् ।