काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि आइतबारका लागि मात्र बिदा रहेकोमा छठ पर्वको मुख्य पूजाअन्तर्गत सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मध्यनजर गर्दै सरकारले थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ।
सोही परम्परालाई ध्यानमा राख्दै सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
सरकारको यस निर्णयसँगै छठ पर्व मनाउने व्रतालु तथा सर्वसाधारणलाई धार्मिक विधि र पूजाआजा सम्पन्न गर्न थप सहज हुने अपेक्षा गरिएको छ।