‘लोकतन्त्रमा सत्ता स्थायी हुँदैन, विधिको शासन स्थायी हुन्छ। कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ?’
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय महामन्त्री डा. डिला सङ्ग्रौलाले इनम सापकोटा प्रकरणलाई लिएर सरकारको कार्यशैली, राज्यसत्ताको प्रयोग र सुशासनप्रति गम्भीर प्रश्न उठाएकी छन्। उनले करिब दुईतिहाइ जनमतसहित बनेको सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा प्रतिपक्षलाई नै निशाना बनाउने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गरेकी छन्।
मिसन लुम्बिनी डटकमसँगको कुराकानीमा महामन्त्री सङ्ग्रौलाले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा राखेको भन्ने विवरण सार्वजनिक हुनु गम्भीर विषय भएको बताइन्। उनका अनुसार यसबारे सरकारले तथ्यसहित आधिकारिक जवाफ दिनुपर्छ र निष्पक्ष छानबिन सुनिश्चित गर्नुपर्छ।
उनले भनिन्, “इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग पारेको छ। देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम नागरिकले समेत भेउ पाउन छाडेका छन्। सुशासन होइन, छाडातन्त्र हावी हुँदै गएको देखिन्छ।”
मोबाइल फोन कसको निर्देशनमा कहाँ राखियो, फरेन्सिक परीक्षणअघि त्यसको नियन्त्रण कसले गर्यो र अनुसन्धानको निष्पक्षता कसरी सुनिश्चित गरियो भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको माग छ।
सङ्ग्रौलाले लोकतन्त्रमा प्रतिपक्षको भूमिका सरकारका सकारात्मक कामलाई समर्थन गर्ने र गलत निर्णय तथा कार्यशैलीमाथि खबरदारी गर्ने भएको स्पष्ट पारिन्। प्रतिपक्षले सरकारलाई प्रश्न गर्नु उसको अधिकार मात्र नभई जनताप्रतिको जिम्मेवारीसमेत भएको उनको भनाइ छ।
“करिब दुईतिहाइ जनमतसहित बनेको सरकारले जनताप्रति अझ बढी उत्तरदायी हुनुपर्छ। प्रतिपक्षलाई कमजोर बनाएर सरकार बलियो हुँदैन।
कांग्रेस सभापतिमाथि आरोप लगाउने, पक्राउको वातावरण सिर्जना गर्ने वा राजनीतिक रूपमा बदनाम गर्ने प्रयासभन्दा उठेका प्रश्नको निष्पक्ष छानबिन र तथ्यका आधारमा जवाफ दिनु सरकारको दायित्व हो,” उनले भनिन्। नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार शक्ति भएको उल्लेख गर्दै उनले राज्यशक्तिको प्रयोग राजनीतिक प्रतिशोधका लागि नभई न्याय, विधिको शासन र सुशासनका लागि हुनुपर्नेमा जोड दिइन्।
सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसले सरकारका स्वेच्छाचारी गतिविधि, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र नागरिक अधिकारको संकुचनविरुद्ध खबरदारी गरिरहेको पनि उनले बताइन्।
उनले सरकारलाई चेतावनी दिँदै भनिन्, “भय, त्रास र आतंक सिर्जना गरेर शासन चलाउन सकिएला, तर जनताको विश्वास जित्न सकिँदैन।
लोकतन्त्रमा सत्ता स्थायी हुँदैन, विधिको शासन स्थायी हुन्छ।”
अन्त्यमा उनले सरकारमाथि प्रश्न उठाउँदै भनिन्, “कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ? सत्तामा बस्नेहरूले जनतालाई जवाफ दिनुपर्दैन?”