काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरेको छ । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा. गैरेलाई मन्त्रालयले बर्खास्त गरेको हो ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार गैरेलाई हटाउने निर्णय गरिएको जानकारी दिएको छ ।
बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहकाले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड(ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।
