काठमाण्डौ । कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आआफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी कसरतमा जुटेका हुन् ।
प्रदेश प्रमुख खापुुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्न आउँदो २१ गते बिहीवारसम्मको समय दिएका छन्। गएको शुक्रवार हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा २ को प्रयोग भइसकेको भन्दै उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो ।
प्रदेश प्रमुखबाट उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । अहिले विपक्षीमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन बनाएर सरकार गठन गर्ने दाबी गरेका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्दा गठबन्धनसँग जम्मा ४६ प्रदेश सभा सदस्य मात्रै हुन्छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।
प्रदेश सभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् । गठबन्धन दलले राप्रपालाई सहभागी गराएर नयाँ सरकार गठनको गृहकार्य थालेको छ । तर मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाले पनि दाबी गर्दै आएको छ । केन्द्रबाटै टुङ्गो लगाउन नेताहरुले दौडधुप बढाएका छन् ।