काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई लिएर केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्नेछ। हिजो बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आज अपरान्ह तीन बजेसम्मलाई स्थगित भएको थियो। प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा संसद् खुलाउने विषयमा समझदारी भए पनि एमाले अध्यक्ष केपी ओलीले अन्तिममा आएर प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्ति र गृहमन्त्री नायारणकाजी श्रेष्ठले गरेको ट्विटमा एमालेलाई आरोप लगाएको विषय फिर्ता लिनुपर्ने भनेपछि बैठक बस्न सकेन।
आजको बैठक भने चल्नसक्ने संकेत एमालेले दिएको छ। प्रधानमन्त्रीले आफ्ना कुरा राखेर संसदलाई विश्वासमा लिएमा बैठक चल्न सक्ने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए।