काठमाण्डौं । काठमाण्डौं महानगरपालिका मेयर बालेन शाहले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई जवाफ पेस गर्दै आफ्ना अभिव्यक्तिले अदालतको अवहेलना नभएको स्पष्ट गरेका छन्। अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा अदालतले उनलाई वारेस राख्न दिन बालेन शाहलाई अस्वीकार गरेको छ। यसका लागि उनी आफैँले अदालत धाउनुपर्नेछ।
शाहले हिन्दी फिल्मसम्बन्धी विवादमा अदालतको आदेशमाथि टिप्पणी गरेपछि अदालतको अवहेलना भएको भन्दै उनीबिरुद्ध मुद्दा दायर भएको थियो। बालेन शाहले अदालतमा यसबारे जवाफ बुझाउँदै भनेका छन्, ‘विपक्षी निवेदकले मेरो विचार अभिव्यक्तिबाट सर्वोच्च, उच्च वा जिल्ला अदालतमध्ये कुन चाहिँ अदालतको न्यायसम्पादनको कार्यमा अवरोध पुग्यो वा कुन चाहिँ आदेश वा फैसलाको अवज्ञा भयो भन्ने सम्बन्धमा वस्तुनिष्ठ यकिन खुलाएको देखिएन, निवेदकले औचित्ययुक्त व्यहोरा आफ्नो निवेदनमा खुलाउन सक्नुभएको छैन। तसर्थ, विपक्षी निवेदकको अपुष्ट एवं औचित्यहीन निवेदन प्रथम दृष्टिबाटै खारेजभागी छ।
बालेन शाहले काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतमा अदालतको आदेश, फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्णसम्मान रहेको पनि स्पष्ट पारेका छन्।