काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको अन्तिम संस्कार भएको छ । उनको हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा दिउँसो उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार भएको हो । प्रचण्डसँगै छोरीहरु रेणु र गंगाले सीताको पार्थिव शरीरमा दागबत्ती दिएका छन् । यसअघि माओवादी केन्द्रकी सल्लाहकारसमेत भएकी सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएसँगै शोक ब्यक्त गर्न सबैजसो दलका नेताहरु नर्भिक अस्पताल पुगेका थिए । श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रचण्डका आफन्तसँगै माओवादी केन्द्रका सबैजसो उपलब्ध नेताहरुसहित शीर्ष दलका सबैजसो नेताहरुसँगै माओवादीबाट छुट्टिएका नेताहरु पनि पुगेका थिए ।
त्यस्तै पूर्वराजाका तर्फबाटसमेत सहभागी भएका थिए । नेताहरु नर्भिक, पेरिस डाँडासँगै पशुपतिसमेत पुगेका थिए । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।
अन्त्येष्टिअघि पशुपति आर्यघाटमै पुगेर सीतालाई पूर्वप्रधानमन्त्रीहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रिपरिषद्का सदस्य, सांसद, सुरक्षाकर्मीलगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
सीताको ६९ वर्षको उमेरमा निधन भएको हो । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।
विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। पार्टीको कामका लागि पञ्चायतकलामा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन् ।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सन लगायत रोगबाट पीडित भएकी थिइन् । चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ ।
सीता छोरीको निधनले स्तब्ध त थिइन् नै छोराको निधनले थला नै परिन् । त्यसपछि उनी कहिल्यै उठ्न सकिनन् । सधै थला परिरहिन् । बुढेसकालको सहारालाई आफ्नै आँखा अगाडि गुमाउनु पर्दाको पीडा सहन गर्न नसकेर लामो समयदेखि उनी थला परिन् । प्रचण्डले उनको सक्दो सेवा गरे । उपचार गरे । सीतालाई तातोपानीदेखि सिंगापुरसम्म लगे । चिकित्सकको तर्फबाट हुने उपचारको प्रयास हरसम्भव भएसम्म प्रचण्डले गरे पनि सीता आफैँ त्यो पीडाबाट माथि उठ्न सकिनन् ।